काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (Nabil School of Social Entrepreneurship - Nabil SSE) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सका नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ। सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने सोच भएका व्यक्तिहरूलाई उद्यममार्फत सशक्त बनाउन लक्ष्य लिएको छ।
१८ वर्ष पूरा गरेका इच्छुक नेपाली नागरिकले आगामी कात्तिक २८ गते राति ११:५९ बजेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ। आवेदन नबिल बैंकको आधिकारिक वेबसाइट वा नबिल एसएसईका सोसल मिडिया पेजमार्फत दिन सकिन्छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार यस वर्षको नबिल एसएसई कार्यक्रमलाई देशको विकास, गरिबी निवारण र सशक्तीकरणमा केन्द्रित गर्दै गरिब र विपन्न समुदायलाई लक्षित गरिएको छ।
“मुलुकको विकासप्रति हाम्रो प्रतिबद्धता पूरा गर्न सामाजिक उद्यमीको सशक्तीकरण सबैभन्दा प्रभावकारी माध्यम बनेको छ,” ज्ञवालीले भने, “यस कार्यक्रममार्फत पछाडि पारिएका समुदायसम्म पुग्ने, वित्तीय नवप्रवर्तन प्रवद्र्धन गर्ने र समावेशी विकास तथा रोजगारी सृजनामा योगदान दिने हाम्रो लक्ष्य हो।”
छ महिनाको यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायसँगको सहकार्यमा सञ्चालन भइरहेको छ। फेलोसिप कार्यक्रम स्टार्टअप तथा नविनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरूका लागि हो। सहभागीहरूले विश्वस्तरीय प्रशिक्षण, मेन्टरसिप, नेटवर्क विस्तार र वित्तीय पहुँच सुविधा पाउनेछन्।
हालसम्म ७६ जना सहभागी यस कार्यक्रममा भइसकेका छन्, जसबाट ६२ वटा सामाजिक उद्यम सञ्चालनमा छन्।
तीन महिनाको सर्टिफिकेट कोर्स देशका सातै प्रदेशमा विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको छ।
कार्यक्रम हाल निम्न संस्थाहरूमा सञ्चालनमा छन् ।
कोशी प्रदेश: महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस
मधेश प्रदेश: वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल
बाग्मती प्रदेश: क्याम्पियन कलेज
लुम्बिनी प्रदेश: क्षितिज इन्टरनेशनल कलेज, दिव्यज्योति बहुमुखी क्याम्पस, र कोहलपुर मोडल कलेज
कर्णाली प्रदेश: सुर्खेत मोडल कलेज
सुदूरपश्चिम प्रदेश: सुदूरपश्चिमाञ्चल एकेडेमी
हालसम्म यो कोर्समार्फत १ हजार ६९ जनाले प्रत्यक्ष लाभ लिइसकेका छन्।
यस वर्षदेखि बैंकले प्रत्येक प्रदेशका लागि फरक–फरक प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ ।
कोशी: हाइ भ्यालु क्रप्स
मधेश र लुम्बिनी: एग्रो भ्यालु चेन
बाग्मती: डिजिटल नवप्रवर्तन र हरित उद्यम विकास
गण्डकी: सामुदायिक होमस्टे र पर्यटन प्रवद्र्धन
कर्णाली: पर्वतीय उद्यम अभियान – मौरीपालन, बाँस र जडीबुटीजन्य उद्यम
सुदूरपश्चिम: ग्रामीण पर्यटन र पशुपालन उद्यम प्रवद्र्धन
नबिल बैंकले नबिल एसएसईलाई दिगो विकासमा योगदान पुर्याउने प्रमुख आधारका रूपमा लिएको छ। यस कार्यक्रममार्फत हालसम्म १७ हजारभन्दा बढी रोजगारी सृजनामा सहयोग पुगेको बैंकको भनाइ छ।
सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नबिल बैंकले वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन र वातावरण संरक्षणजस्ता क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।
बैंकका अनुसार, यी प्रयासहरूले देशभरका हजारौँ मानिसको जीवनस्तर सुधार गर्न र वातावरण संरक्षणमा ठोस योगदान पुर्याएका छन्।
आवेदन दिन यहाँ क्लिक गर्नुहोस्:
Published by Nabil Bank on 2082-6-27