देशको मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, विप्रेषण आप्रवाह तथा बैंकिङ सूचकहरूमा सकारात्मक संकेत देखिएको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३ दशमलव ७५ प्रतिशत रहेको छ। त्यस्तै कुल विदेशी विनिमय सञ्चिति २३ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ, जुन आगामी करिब १५ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यस अवधिमा चालु खाता २ खर्ब ६४ अर्ब ७८ करोड रुपैयाँ र शोधनान्तर स्थिति ४ खर्ब ५७ अर्ब ७२ करोड रुपैयाँ बचतमा रहेको छ। विप्रेषण आप्रवाह पनि उल्लेखनीय रूपमा बढेको छ। नेपाली रुपैयाँमा विप्रेषण २८ दशमलव ९ प्रतिशत र अमेरिकी डलरमा २३ प्रतिशतले वृद्धि भई चालु आर्थिक वर्षको माघ महिनासम्म ९ खर्ब १५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी निर्यात ३२ दशमलव २ प्रतिशतले बढ्दा आयात १३ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ।
सरकारी वित्तीय गतिविधितर्फ हेर्दा नेपाल सरकारको कुल खर्च ६ खर्ब ५७ अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ६ खर्ब ६५ अर्ब ३ करोड रुपैयाँ रहेको छ। विस्तृत मुद्राप्रदाय ५ दशमलव ९ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय वृद्धि दर १५ दशमलव २ प्रतिशत रहेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ६ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले वृद्धि भएको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेप वृद्धि दर १६ दशमलव ९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धि दर ८ दशमलव ८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर ३ दशमलव ५७ प्रतिशत रहेको छ भने ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३ दशमलव ४५ प्रतिशत कायम भएको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३ दशमलव ५१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ।
Published by Nepal Rastra Bank on 2082-11-27
View More by Nepal Rastra Bank