• KBL
  • Everest Bank Limited (EBL)

Download Print

कर्जा लिने र भुक्तानी गर्ने प्रक्रिया सम्बन्धमा नेपाल राष्ट्र बैंकद्वारा नयाँ सन्देश जारी

नेपाल राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले कर्जा लिँदाको चरणबद्ध प्रक्रिया, कर्जा मूल्याङ्कनका आधार तथा ऋणीका अधिकार र दायित्वबारे वित्तीय सन्देश जारी गरेको छ।

राष्ट्र बैंकका अनुसार कर्जा भनेको निश्चित अवधिका लागि सापटी लिइएको रकममा ब्याज तिरी तोकिएको सर्तअनुसार साँवा फिर्ता गर्ने वित्तीय सेवा हो। बचत अपर्याप्त हुँदा पुँजी निर्माण वा उपभोगका लागि कर्जा लिन सकिन्छ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्दा नगद प्रवाह (Cash Flow), स्वपुँजी (Capital), ऋणीको चरित्र तथा वित्तीय इतिहास (Character), धितो तथा सुरक्षण (Collateral) र कर्जाका सर्तहरू (Conditions) लगायतका पाँच आधार अर्थात् ‘५ सी’ (5C’s) सिद्धान्तलाई ध्यानमा राख्छन्।

कर्जा प्राप्त गर्ने प्रक्रियामा सर्वप्रथम आवेदकले आवश्यक कागजातसहित आवेदन दिनुपर्छ। त्यसपछि बैंक तथा वित्तीय संस्थाले ऋणीको तिर्न सक्ने क्षमता, स्वलगानी, साख र धितोको मूल्याङ्कन गर्छन्। मूल्याङ्कन सन्तोषजनक भएमा कर्जा स्वीकृत गरी ब्याजदर, भुक्तानी तालिका र अन्य सर्तसहितको स्वीकृति पत्र प्रदान गरिन्छ। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि कर्जा प्रवाह गरिन्छ र त्यसको सदुपयोगिताको अनुगमन गरिन्छ।

राष्ट्र बैंकले ऋणीलाई पर्याप्त सूचना प्राप्त गर्ने, निष्पक्ष व्यवहार पाउने, गोपनीयता कायम हुने तथा गुनासो र समस्या समाधानको अवसर प्राप्त गर्ने अधिकार रहेको सन्देश दिएको छ। त्यसैगरी, ऋणीले सही सूचना उपलब्ध गराउने, कर्जाका सर्तहरू ध्यानपूर्वक अध्ययन गर्ने, स्वीकृत उद्देश्यअनुसार कर्जाको सदुपयोग गर्ने र समयमै साँवा तथा ब्याज भुक्तानी गर्ने दायित्व पूरा गर्नुपर्छ।

कर्जा लिनुअघि त्यसको उद्देश्य, लागत, सम्भावित प्रतिफल र जोखिमको विश्लेषण गरी आफ्नो भुक्तानी क्षमताअनुसार मात्र कर्जा लिन राष्ट्र बैंकले आग्रह गरेको छ।

कर्जा लिने र भुक्तानी गर्ने प्रक्रिया सम्बन्धमा नेपाल राष्ट्र बैंकद्वारा नयाँ सन्देश जारी

Published by Nepal Rastra Bank on 2083-7-10



View More by Nepal Rastra Bank

  • Global IME Bank
  • Laxmi Sunrise Bank Ad