काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले बैंकको नाफा र आम्दानी सूचकहरूमा उल्लेख्य दबाब देखाएको छ।
बैंकले नौ महिनासम्ममा १४ करोड ३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको १५ करोड ६७ लाख रुपैयाँको तुलनामा १०.५ प्रतिशतले कम हो।
नाफामा आएको गिरावटसँगै बैंकको आम्दानीतर्फ पनि कमजोरी देखिएको छ। खुद ब्याज आम्दानी ७ अर्ब ९६ करोड रुपैयाँबाट घटेर ६ अर्ब ३० करोड रुपैयाँमा झरेको छ, जसले मुख्य सञ्चालन आम्दानीमा सीधा असर पारेको छ। सञ्चालन मुनाफा पनि सीमित हुँदै ६७ करोड रुपैयाँमा खुम्चिएको छ।
बैंकको कर्जा गुणस्तरमा मिश्रित संकेत देखिएका छन्। कुल निष्क्रिय कर्जा ५.७५ प्रतिशतबाट बढेर ८.८५ प्रतिशत पुगेको छ, जुन जोखिम बढ्दो संकेत हो। यद्यपि, उच्च प्रोभिजनिङका कारण खुद निष्क्रिय कर्जा घटेर ०.४९ प्रतिशतमा झरेको छ।
तर यही आक्रामक प्रोभिजनिङले बैंकको नाफामाथि थप दबाब सिर्जना गरेको देखिन्छ। यसको प्रत्यक्ष असर वितरणयोग्य नाफामा परेको छ, जहाँ बैंकको रिटेन्ड अर्निङ १३ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ।
तरलता व्यवस्थापनमा पनि असन्तुलन देखिन्छ। बैंकले ३ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा प्रवाह भने २ खर्ब १ अर्ब रुपैयाँमा सीमित छ, जसले कर्जा विस्तार कमजोर रहेको संकेत गर्छ।
ब्याजदर घट्दो प्रवृत्तिले बैंकको मार्जिनमा थप दबाब दिएको छ। आधार दर ७.२ प्रतिशतबाट घटेर ६.२ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ३.४ प्रतिशतमा सीमित छ।
समग्रमा, एनआईसी एशिया बैंकको वित्तीय अवस्थाले उच्च प्रोभिजनिङमार्फत जोखिम नियन्त्रणको प्रयास देखाए पनि नाफा, आम्दानी र कर्जा विस्तारजस्ता प्रमुख सूचकहरूमा दबाब कायम रहेको संकेत गर्छ।
Published by NIC Asia Bank on 2083-1-15