नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले उक्त आर्थिक वर्षमा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफासँग तुलना गर्दा १५.०१ प्रतिशत वृद्धि हो।
बैंकको चालु आर्थिक वर्षमा खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने खुद फी एण्ड कमिसन आम्दानी ३ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ भएको छ। यस अवधिमा बैंकले २ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याएको छ।
७ अर्ब १२ करोड ७६ लाख रुपैयाँ नाफामध्ये ४ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ मात्र लाभांशका रूपमा वितरण गर्न सकिने देखिन्छ। अघिल्लो वर्षसम्मको सञ्चित नाफा समावेश गर्दा वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ पुगेको छ। यस आधारमा २७ अर्ब ५ करोड ७० लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले करिब १७.६४ प्रतिशत लाभांश वितरण गर्न सक्ने अनुमान छ।
सञ्चालन स्थिति
२०८२ असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात (Gross NPL) घटेर ४.२७ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात (Net NPL) ०.९५ प्रतिशतमा पुगेको छ। एक वर्षमा बैंकको आधारदर (Base Rate) ७.६३ प्रतिशतबाट घटेर ५.८३ प्रतिशतमा आएको छ भने ब्याजदर स्प्रेड ३.९९ प्रतिशतबाट ३.५७ प्रतिशतमा झरेको छ।
प्राथमिक पुँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) ९.४७ प्रतिशतबाट बढेर ९.५२ प्रतिशत भएको छ। बैंकको प्रति सेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा र मूल्य-आम्दानी अनुपात (P/E Ratio) २०.५५ गुणा रहेको छ।
निक्षेप र कर्जा विस्तार
बैंकले ५ खर्ब २४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ४ खर्ब १२ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। विगत एक वर्षमा निक्षेपमा ६२ अर्बभन्दा बढी वृद्धि हुँदा कर्जा विस्तार करिब ३९ अर्बले भएको छ।
Published by Nabil Bank on 2082-4-27