• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

प्रभु बैंकको नाफामा झिनो सुधार, खराब कर्जा व्यवस्थापन चुनौती - Q3 Report -

काठमाडौं — प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्तसम्म) मा १ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.५१ प्रतिशत मात्र वृद्धि हो। नाफा वृद्धिको गति सुस्त देखिए पनि केही सूचकहरूमा सुधार देखिएको छ।

बैंकको खुद ब्याज आम्दानी १६.०४ प्रतिशतले र सञ्चालन नाफा ३.८५ प्रतिशतले घटेको छ। अर्थात्, बैंकले कर्जाबाट कमाएको ब्याज तथा नियमित कारोबारबाट आएको नाफा दुबै घटेका छन्। यद्यपि, गैर-सञ्चालन खर्च घट्नुडिफर्ड ट्याक्स (भविष्यमा असुल गर्न सकिने आयकर) को रकम बढ्नुले नाफामा सामान्य सुधार ल्याएको हो।

खराब कर्जा बढ्दा थप चासो

बैंकको खराब कर्जा (NPL) अघिल्लो त्रैमासको तुलनामा ०.२८ प्रतिशत विन्दुले बढेर ५.०९ प्रतिशत पुगेको छ। यो वृद्धिले ऋणको गुणस्तरमा चुनौती देखिएको संकेत गर्छ। बैंकले खराब कर्जा व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखेको बताएको छ।

प्रभु बैंकको आधारभूत वित्तीय सूचकांकहरू हेर्दा बैंकको वित्तीय अवस्था मध्यम रूपमा सन्तुलित देखिन्छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी (EPS) १० रुपैयाँ ६३ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३७ पैसाले वृद्धि हो। प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसामा कायम छ, जसले बैंकको सम्पत्ति मूल्य संकेत गर्छ। हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ, जुन सम्भावित जोखिमहरू न्यूनीकरण गर्न उपयोगी आधार हो। यी सूचकांकहरूले बैंकको संरचनागत बलियोपन देखाए पनि लाभांश वितरणको पक्ष भने कमजोर देखिन्छ।

तर, बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक छ। यसको अर्थ हाल बैंकले तत्काल लाभांश वितरण गर्ने अवस्था छैन।

सुधारको संकेत या स्थायित्वको चुनौती?

प्रभु बैंकले नाफा भने झिनो मात्रामा बढाए पनि आधारभूत सञ्चालन आय घट्नु र खराब कर्जाको अनुपात बढ्नु दीर्घकालीन रूपमा बैंकको कार्यसम्पादनमा चुनौती हुन सक्छ। जोखिम व्यवस्थापन र ब्याज आम्दानीमा सुधार ल्याउन सके मात्रै आगामी त्रैमासमा बैंकले स्थायित्व कायम राख्न सक्छ भन्ने देखिन्छ।

बैंकिङ क्षेत्रका विज्ञहरूका अनुसार, अहिले देखिएको सूक्ष्म सुधारभन्दा पनि खराब कर्जाको स्थितिलाई कसरि नियन्त्रित गरिन्छ भन्नेमा प्रभु बैंकको भविष्य निर्भर हुनेछ।

प्रभु बैंकको नाफामा झिनो सुधार, खराब कर्जा व्यवस्थापन चुनौती - Q3 Report -

Published by Prabhu Bank on 2082-1-7



View More by Prabhu Bank

  • MBL - below notice
  • NMB Ad - Notice buttom