बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि (साउन ६ गते) आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेकोमा, त्यस अन्तर्गत ५ लाख ६६ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। यी शेयरहरूका लागि आवेदन साउन ६ गतेदेखि साउन २० गतेसम्म दिन सकिनेछ भने आवश्यक परेमा आवेदन अवधि भदौ ४ गतेसम्म लम्बिन सक्छ। आवेदन दिन सक्ने स्थानमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका वडा नं. १ र गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ७ पर्दछन्। स्थानीय बासिन्दाले कम्पनीको कार्यालय वा सम्बन्धित स्थानीय तहको कार्यालयमा आवेदन दिन सक्नेछन् भने दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क लाग्नेछ।
यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५ लाख २९ हजार ४०० कित्ता शेयर निष्काशन गरिएको छ। उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका आवेदकहरूका लागि आवेदन साउन ६ गतेदेखि साउन ९ गतेसम्म (ढिलोमा साउन २० गतेसम्म) खुला रहनेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको यस आईपीओलाई केयर रेटिङ नेपालले “CARE-NP BB” रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ। कम्पनीले सञ्चालन गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने लगानी फिर्ता हुने साधारण अवधि ८.२२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.५ वर्ष रहेको छ। यस आईपीओको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूलाई तोकिएको समयभित्र आवेदन दिन कम्पनीको अनुरोध छ।
Published by Nepal SBI Merchant on 2082-4-6
View More by Nepal SBI Merchant