फेसबुकमा बैंक कार्ड ‘भाडामा दिने’ स्क्यामर सक्रिय, प्रयोगकर्तालाई सतर्कता अपनाउन आग्रह


  • KBL News Ad
  • ADBL
  • City Express
फेसबुकमा बैंक कार्ड ‘भाडामा दिने’ स्क्यामर सक्रिय, प्रयोगकर्तालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं - चार्डवार्डको समय नजिकिँदै जाँदा सामाजिक सञ्जाल फेसबुकमा स्क्यामरहरूले ठगी गर्ने उद्देश्यले विभिन्न भ्रामक विज्ञापनहरू सार्वजनिक गर्न थालेका छन्। हालै देखिएको एउटा विज्ञापनमा प्रयोगकर्ताले आफ्नो बैंक कार्ड वा खाता ‘भाडामा’ दिएर साप्ताहिक भुक्तानी र उच्च आम्दानी कमाउन सकिने दाबी गरिएको छ।

Scam alert: फेसबुकमा बैंक कार्ड भाडामा दिने स्क्याम

तर, बैंकिङ सुरक्षा विज्ञहरूले यस्तो दाबी वास्तविक नभई ठगी (स्क्याम) भएकाे  बताएका छन्। उनीहरूले प्रयोगकर्ताले व्यक्तिगत वा बैंकिङ विवरण अपरिचित व्यक्तिसँग साझा नगर्न, यस्ता भ्रामक प्रस्तावबाट टाढा रहन र आफ्नो जानकारी सुरक्षित राख्न विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।

उक्त विज्ञापनमा FASTBTC लोगो प्रयोग गरी Nepal BTC Agent नाम देखाइएको छ। पेजमा NPR Rental Agent नाम दिइएको छ भने Global IME, Machhapuchchhre, NIC Asia, Nabil, Rastriya, NMB, Himalayan र Kumari लगायतका बैंकहरूको नाम प्रयोग गरिएको छ। विज्ञापनले एक महिनामै कम्तीमा २३ हजार रुपैयाँ कमाउन सकिने दाबी गर्दै प्रयोगकर्तालाई आफ्नो बैंक कार्ड भाडामा दिन प्रलोभन दिएको छ।

समाचार तयार पार्दासम्म सो पोस्टमा करिब २९ हजार लाइक, ८९६ कमेन्ट र २१९ सेयर भइसकेको छ।

कसैलाई आफ्नो बैंक कार्ड वा खाता भाडामा दिने वा सजिलो आम्दानीको प्रलोभनमा व्यक्तिगत विवरण उपलब्ध गराउने कुरा पूर्णतः असत्य र खतरनाक हुन्छ। यस्ता गतिविधिबाट बैंकिङ जानकारी चोरी भई खातामा रहेको रकम हराउने मात्र होइन, अवैध कारोबारमा संलग्न भएको आरोपमा कानूनी कारबाही भोग्नुपर्ने अवस्था पनि आउन सक्छ।

खाता विवरण, एटीएम कार्ड, पिन, पासवर्ड वा ओटीपी जस्ता संवेदनशील जानकारी अरूसँग साझा गर्नु भनेको आफ्नै सम्पत्ति र पहिचान अपराधीको हातमा दिनु हो। यसरी प्रयोग भएका खातामार्फत अनधिकृत कारोबार, अवैध रकम सार्ने काम वा कालो धन सेतो देखाउने जस्ता अपराधमा प्रयोग हुनसक्छ, जसको सीधा असर खाता मालिकमाथि पर्छ।

यसैबीच, यस्ता प्रलोभनपूर्ण अफर वा शंकास्पद पोस्टबाट सचेत रहन विज्ञहरूले आग्रह गरेका छन्।

  • शंकास्पद विज्ञापन वा लिंकमा क्लिक नगर्नुहोस्।

  • खाता नम्बर, कार्ड विवरण, पिन, पासवर्ड वा ओटीपी कसैसँग पनि नदिनुहोस्।

  • कुनै अफर असामान्य वा अत्यधिक आकर्षक देखिए तत्काल सम्बन्धित बैंक वा प्राधिकरणलाई जानकारी दिनुहोस्।

  • आफ्ना खाता विवरण नियमित रूपमा मोबाइल बैंकिङ वा अनलाइन सेवाबाट जाँच्न बानी बसाल्नुहोस्।

सामाजिक सञ्जाल वा इन्टरनेटमार्फत हुने ठगी गतिविधिबाट जोगिन सचेत रहनु र सावधानी अपनाउनु नै आर्थिक सुरक्षाको सबैभन्दा प्रभावकारी उपाय हो।

  • EBL Ad news