काठमाडाैँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुखदेखि सहयोगी कर्मचारीसम्मले आफ्नो तलब तथा भत्ताबाट रकम जुटाएर उक्त सहयोग गरेको बैंकले जनाएको छ।
बैंकका सञ्चालक समिति अध्यक्ष टंकप्रसाद पाण्डे र निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, मार्केटिङ तथा सेल्स विभाग प्रमुख बीना शर्मा र जनशक्ति व्यवस्थापन विभाग प्रमुख अजय रिमालको पनि उपस्थिति थियो।
कृषि विकास बैंकले यसअघि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषबाट सोही उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरिसकेको जनाएको छ। त्यस्तै, बाढी प्रभावितका लागि १० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार पछिल्लो सहयोग कर्मचारीहरूको व्यक्तिगत योगदानबाट जुटाइएको हो।




