काठमाडौं । कृषि विकास बैंक लिमिटेडले बाढीबाट प्रभावित परिवारका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ।
बैंकका अनुसार करिब २०० परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, बिस्कुट, चिउरा, दालमोठ, चाउचाउ, मस्यौरा, चना, भुजा र पिउने पानीलगायत अत्यावश्यक खाद्य सामग्री सरकारको आधिकारिक राहत सङ्कलन केन्द्रमा हस्तान्तरण गरिएको हो।
खाद्य सामग्री बैंकको मार्केटिङ एन्ड सेल्स विभागकी विभागीय प्रमुख बीना शर्माले हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा बैंकका वरिष्ठ शाखा प्रमुख महेश्वर मरहठ्ठा, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना र कार्यालय सहायक बबिता अर्याललगायतको उपस्थिति थियो।
बैंकले यसअघि पनि बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।
देशका विभिन्न क्षेत्रमा बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सहयोग गरिएको बैंकले जनाएको छ।
यसैबीच, बैंकले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका संघसंस्था र व्यक्तिहरूलाई सरकारको आधिकारिक राहत कोषमार्फत सहयोग गर्न अपिल गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न बैंक खाता तथा क्यूआर कोडसमेत सार्वजनिक गरेको जनाएको छ।
बैंकले विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग पुर्याउन सरकारी निकाय, संघसंस्था र नागरिकबीच सहकार्य आवश्यक रहेको बताउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
___
बाढी प्रभावितका लागि कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड सहयोग




