बाढी प्रभावितका लागि कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड सहयोग


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बाढी प्रभावितका लागि कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड सहयोग

कृषि विकास बैंकले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रु. ३ करोडको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरणका क्रममा बैंक सञ्चालक समितिका अध्यक्ष टंकप्रसाद पाण्डेको समेत उपस्थिति थियो।

कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, विभागीय प्रमुख बीना शर्मा र वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल पनि उपस्थित थिए।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

बैंकले विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउनु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ।

साथै, बैंकले देश तथा विदेशमा रहेका इच्छुक संघसंस्था र व्यक्तिलाई सक्दो सहयोग गर्न अपिल गर्दै नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को बैंक खाता तथा क्यूआर कोडसमेत सार्वजनिक गरेको जनाएको छ।

देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भइरहेका बेला पीडित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ।