साताको पहिलो दिन आईतबार नेप्से ४.७८ अंकले घटेर ११६७.८६ बिन्दुमा झरेको छ । कारोबार शुरु भएपछि परिसूचक बढ्दै गएको भए पनि कारोबार बन्द हुने बेलामा घट्दै गएको थियो । परिसूचक घट्दै जाँदा दोहोरो अंकले घटेको भए पनि अन्तिम १० मिनेटमा सम्हालिँदा परिसूचकमा ठूलो पहिरो जानबाट रोकिएको थियो । कुल १७२ वटा कम्पनीको २० लाखभन्दा बढी कित्ता शेयर ६८ करोड ६० रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन परिसूचकसँगै कारोबार रकम र शेयर संख्या अघिल्लो दिनको तुलनामा घटेको छ । आज कारोबारमा आएका समूहमध्ये बैंक, व्यापार र अन्य समूहबाहेक सबै समूह घटेका छन् । आज एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १०% ले बढेको छ । स्पर्श लघुवित्त कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।





