काठमाडौं - नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापनलाई अझ बढी सुरक्षित, भरपर्दो र अत्याधुनिक बनाउने लक्ष्यसहित रु १,००० को नयाँ सिरिज २०२५ को बैंकनोट बजारमा ल्याएको छ। केन्द्रीय बैंकद्वारा जारी यस नयाँ नोटमा सुरक्षा र डिजाइनका हिसाबले धेरै नवीन परिवर्तनहरू गरिएका छन्, जसले सर्वसाधारणलाई सक्कली नोट सजिलै पहिचान गर्न मद्दत पुर्याउनेछ।
नयाँ नोटमा जडान गरिएको ३.५ मिलिमिटर चौडाइको चलाएमान (Dynamic) सुरक्षण धागोलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने विशेषता दिइएको छ, जसमा 'NRB' र '1000' अंक स्पष्ट रूपमा कुँदिएको छ। यसैगरी, नोटको अग्रभागमा रहेको भगवतीको चित्रलाई सीधै हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङमा परिवर्तन हुने ओभीआई (OVI) मसी प्रयोग गरिएको छ।
समाजका सबै वर्गको पहुँचलाई ध्यानमा राख्दै दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिहरूले सजिलै छामेर पहिचान गर्न सक्ने गरी नोटको किनारामा रोमन अक्षर 'M' र १०/१० वटा तेर्सा रेखाहरू राखिएका छन्। नोटको अग्रभागमा सगरमाथा हिमाल र लालीगुराँसको पानीछाप छ भने पृष्ठभागमा चितवन राष्ट्रिय निकुञ्जका प्रसिद्ध जुम्ल्याहा हात्ती 'राम र लक्ष्मण' को चित्र अङ्कित गरिएको छ।
यस नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ भने यसको तल्लो खण्डमा सिरिज नम्बर 'वि.सं. २०८२' र '2025 A.D.' उल्लेख गरिएको छ।
केन्द्रीय बैंकले बजारमा आइसकेका पुराना नोटहरू पनि उत्तिकै वैध र चलनचल्तीमा रहने स्पष्ट पार्दै सर्वसाधारणलाई नोटको सुरक्षा विशेषताहरू जस्तै पानीछाप, सुरक्षण धागो, र पराबैजनी प्रकाशमा देखिने विशेषताहरूको प्रयोगमार्फत नोट जाँच गर्न आग्रह गरेको छ।






