स्प्रेड दर घट्दा पनि बैंकहरूकाे नाफा बढ्दाे, गैर-ब्याज आम्दानीमा निर्भरता तीव्र


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्प्रेड दर घट्दा पनि बैंकहरूकाे नाफा बढ्दाे, गैर-ब्याज आम्दानीमा निर्भरता तीव्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको नाफा १९.३ प्रतिशतले बढेर ४९ अर्ब रुपैयाँ नाघेको छ, जसले बैंकिङ क्षेत्र क्रमशः सुधारतर्फ उन्मुख भएको संकेत गर्छ। तर, यो वृद्धि परम्परागत ब्याज आम्दानीभन्दा बढी गैर-ब्याज स्रोतहरूमा निर्भर देखिएको छ।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले चैत मसान्तसम्म कुल ४९ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४१ अर्ब २५ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।

नाफाको आधारमा नबिल बैंक अग्रस्थानमा कायम रहँदा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ। उच्च वृद्धि गर्ने बैंकहरूमा कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक प्रमुख देखिएका छन्, जसले क्षेत्रभित्र असमान तर तीव्र पुनरुत्थानको संकेत गर्छ।

विपरीततर्फ, एनआईसी एशिया बैंक र प्रभु बैंक मा उल्लेख्य गिरावट देखिएको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लगायत केही ठूला बैंकहरूको नाफामा पनि दबाब देखिएको छ, जसले समग्र सुधारका बीच चुनौतीहरू अझै कायम रहेको देखाउँछ।

२० वाणिज्य बैंकमध्ये १९ बैंकको निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) घटेको छ, जसले परम्परागत ब्याज आम्दानीमा दबाब बढेको संकेत गर्छ। यद्यपि, यस्तो दबाबका बाबजुद समग्र खुद ब्याज आम्दानीमा भने सामान्य सुधार देखिएको छ र यो २.०९ प्रतिशतले वृद्धि भएको छ, जसले बैंकहरूको आम्दानी संरचना पूर्ण रूपमा कमजोर नभएको संकेत दिन्छ।

अधिक तरलताको अवस्थामा बैंकहरूले निक्षेपको ब्याजदर घटाएर कोषको लागत नियन्त्रण गरिरहेका छन्, जबकि नेपाल राष्ट्र बैंक ले २.७५ प्रतिशत दरमा तरलता प्रशोचन जारी राखेको छ। यस्तो नीतिगत वातावरणले ब्याज मार्जिन खुम्चिए पनि आम्दानी पूर्ण रूपमा प्रभावित हुन दिएको छैन।

बैंकहरूकाे नाफा वृद्धिमा गैर-ब्याज आम्दानीको निर्णायक भूमिका खेलेकाे देखिन्छ। पछिल्लाे समय बैंकहरूको नाफा वृद्धिमा फि तथा कमिसन आम्दानी निर्णायक कारक बन्दै गएको छ। व्यापार वित्त (एलसी), बैंक ग्यारेन्टी, रेमिट्यान्स तथा डिजिटल भुक्तानी सेवाबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ।

बैंक (Bank)

वाणिज्य बैंकहरुको नाफा (रु. करोडमा)

आव २०८१/८२

आव २०८२/८३

वृद्धिदर (%)

Nabil Bank

५०५.१४

६७६.४६

३३.९२

Global IME Bank

४५३.४१

४४०.१२

-२.९३

Kumari Bank

२८.५८

४१७.८०

१३६१.७६

Everest Bank

३४५.७६

३३२.१३

-३.७१

NIMB Bank

४५४.००

३१४.६८

-३०.६९

Prime Bank

२२२.९३

३०८.९३

३८.५८

Nepal Bank

२७८.३५

२७९.३०

०.३४

Rastriya Banijya Bank

१२०.४४

२७६.२१

१२९.३४

NMB Bank

२३७.३३

२६८.७८

१३.२५

Sanima Bank

१६५.२५

२३५.०२

४२.२२

Standard Chartered Bank

२१७.३८

२०८.१६

-४.२४

Laxmi Sunrise Bank

१६५.२२

२०३.८२

२३.३६

Siddhartha Bank

१६६.८३

२०१.४९

२०.७८

Machhapuchchhre Bank

११०.२६

१६५.८७

५०.४३

Nepal SBI Bank

१२०.३३

१४६.१८

२१.४९

Agricultural Development Bank

१८४.४४

१३९.४०

-२४.४२

Citizens Bank

९६.१९

१३०.६५

३५.८२

Prabhu Bank

१८७.६१

८५.१५

-५४.६१

Himalayan Bank

५०.००

७६.२५

५२.४९

NIC Asia Bank

१५.६८

१४.०३

-१०.४९

जम्मा

४१२५.१२

४९२१.२२

१९.३०

यस प्रवृत्तिअनुसार एलसी, ग्यारेन्टी तथा डिजिटल कारोबारको विस्तारले गैर-ब्याज आम्दानी बढाएको छ, जसले समग्र नाफा सुधारमा टेवा दिएको देखिन्छ। विशेषगरी डिजिटल कारोबार र रेमिट्यान्स सेवाको तीव्र विस्तारसँगै बैंकहरूको आम्दानी संरचना क्रमशः विविधीकरणतर्फ उन्मुख भएको देखिन्छ, जसले परम्परागत ब्याज आम्दानीमाथिको निर्भरता घटाउँदै गएको संकेत गर्दछ।

समग्रमा बैंकिङ क्षेत्रको नाफामा देखिएको वृद्धि अर्थतन्त्र क्रमशः पुनरुत्थानतर्फ उन्मुख भइरहेको संकेत मान्न सकिन्छ। तर, यो सुधार पूर्ण रूपमा सुदृढ भएको भन्न सकिने अवस्था भने देखिँदैन। घट्दो स्प्रेड रेटका कारण परम्परागत ब्याज आम्दानीमा दबाब बढ्दै गएको छ भने बैंकहरूबीचको प्रदर्शन पनि असमान रहेको देखिन्छ। साथै, फि तथा कमिसनजस्ता गैर-ब्याज आम्दानीमा बढ्दो निर्भरता दीर्घकालीन रूपमा कत्तिको दिगो रहन्छ भन्ने प्रश्न पनि उठ्न थालेको छ। यी प्रवृत्तिहरूलाई हेर्दा आगामी त्रैमासहरूमा बैंकहरूको नाफा निरन्तर रूपमा बढिरहने वा स्थिर रहने विषयमा अझै अनिश्चितता कायम रहेको देखिन्छ।

  • MBL - below news