काठमाडौँ । वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ ।
सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएसँगै आज बुधबार बसेको नेकपा एमाले तथा माओवादी केन्द्रसहितको गठबन्धनको बैठकले केही मन्त्रालयहरुको टुङ्गो लगाएका छन् । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वले १६ जना मन्त्री थप गरेकाे छ । यी मन्त्रीको आजै अपराह्न ५ बजे शपथ लिने तय भएको प्रधानमन्त्री स्रोतले जनाएको छ ।
सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा रघुवीर महासेठ, उद्योगमा दामोदर भण्डारी, कृषिमा ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा सहकारीमा बलराम अधिकारी, रक्षामा हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठमा भगवती चौधरी र खानेपानीमा राजेन्द्र राई बन्ने गरी कार्य विभाजन भएको छ । पदम गिरीले भने यसअघि नै कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा शपथ लिइसकेका छन् ।
त्यस्तै माओवादीबाट उपप्रधान एवम् परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, अर्थमा वर्षमान पुन, ऊर्जा तथा जनस्रोतमा शक्ति बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमा हितबहादुर तामाङ मन्त्री बन्ने भएका छन् ।
त्यसैगारी रास्वपाबाट उपप्रधान तथा गृहमा रवि लामिछाने, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठ मन्त्री बन्नेगरी कार्यविभाजन भएको छ । डोलप्रसाद अर्यालले भने रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शपथ लिइसकेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट संघीय मामिला तथा सामान्य प्रशासनमा भानुभक्त जोशी र सहरी विकासमा धनबहादुर बुढा मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
*सम्पादन गरियको (नेकपा एकिकृत समाजवादीका दुई मन्त्री थपिए संगै मन्त्रीपरिषद २० सदस्यीय बनेको छ ।)



