२३ फागुन, काठमाडौं । नेकपा एमाले तथा माओवादी केन्द्रसहितको गठबन्धनको आज बसेको बैठकले केही मन्त्रालयहरुको टुङ्गो लगाएका छन् ।
यसै क्रममा माओवादी केन्द्रबाट अर्थ मन्त्रालयको जिम्मा वर्षमान पुनलाई दिने निर्णय भएको छ । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने भएका छन् । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले गृह मन्त्रालयको जिम्मा पाउने भएका छन् ।
मन्त्री परिषदमा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनलाई उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय जिम्मा दिने कुरा एमाले निकट स्रोतले जनाएको छ ।
को हुन वर्षमान पुन ?
वर्षमान नेपाली कम्युनिस्ट राजनीतिज्ञ र पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हुन्। उनी नेपाल कम्युनिष्ट पार्र्टी नेकपाको स्थायी कमिटी सदस्य समेत हुन्। उनी यसअघि अर्थमन्त्री र शान्ति तथा पुनःनिर्माण मन्त्री भइसकेका छन्। उनी विद्रोहको समयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी–केन्द्र) का नेता थिए र जनमुक्ति सेनाका ४ उपकमाण्डरमध्ये एक थिए ।
उनले २०५२ फागुन १, होलेरी पुलिस स्टेसनमा आक्रमणको कमाण्ड गरेका थिए, जुन गृहयुद्धको सुरुवात हो। सन् २००२ मा केन्द्रीय समितिको बैठकपछि उनी पूर्वी डिभिजन कमाण्डरमा नियुक्त भएका थिए । यस क्षमतामा उनले कमान्ड गरेका केही लडाइँहरूमा सेप्टेम्बर २००२ को भीमान, सिन्धुलीमा भएको आक्रमण एक हो । जसमा ४९ प्रहरीको मृत्यु भएको थियो । मे २००५ मा बन्दीपुर ब्यारेकमा भएको आक्रमण समावेश छ।
दोस्रो जनआन्दोलन र बृहत शान्ति सम्झौतापछि पुनः राजनीतिमा प्रवेश गरे । उनी ललितपुर–१ बाट पहिलो संविधानसभामा निर्वाचित भएका थिए । माओवादीका शीर्ष नेताहरूको पार्टी नीतिअनुसार तराई क्षेत्रबाट चुनाव लड्न उनले मोरङबाट दोस्रो संविधानसभामा उम्मेदवारी दिएका थिए । तर, उनी कांग्रेसका तत्कालीन जिल्ला अध्यक्ष दिकबहादुर लिम्बु र नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पछि पार्दै तेस्रो स्थानमा सीमित भए । उनी २०१७ को प्रतिनिधिसभाको निर्वाचनमा आफ्नै गृह जिल्ला रोल्पाबाट उम्मेदवारी दिएर संसदमा निर्वाचित भएका थिए ।
बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसीले २०१२ मा नेपालको अनुरोधमा कम्प्याक्ट विकास गर्न थालेको थियो। २०७६ साल असार ३० गते केपी शर्मा ओली प्रधानमन्त्री हुँदा र वर्षमान पुन ऊर्जामन्त्री थिए । साेही समयमा साे सम्झौतालाई अनुमोदनका लागि संसदमा लगिएको थियो।



