काठमाडौं : ब्रोकरमार्फत सुरु गरिएको मार्जिन लेन्डिङमा आम लगानीकर्ताले चासो नदेखाएपछि यसमा उत्पन्न व्यवहारिक समस्या समाधान गर्न पहल सुरु भएको छ । ब्रोकरमार्फत मार्जिन लेन्डिङ सुविधा लिएर सेयर कारोबार गर्नु भन्दा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिनतर्फ लगानीकर्ता उत्साहित देखिएका छन् । जसका कारण मार्जिन लेन्डिङ प्रक्रियाले गति लिनै सकेको छैन ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने भन्दा निकै कम मात्रामा ब्रोकरमार्फत मार्जिन पाइनु, लगानीकर्ताले आफूले चाहेका कम्पनीको खरिद गर्न नपाउनु, चर्को ब्याजदर लगायतका कारण यतिबेला सर्वसाधारण लगानीकर्ता ब्रोकर कार्यालयमा गएर मार्जिन ऋण लिन तयार नभएका हुन् । यही बेला अधिक तरलताका कारण बैंक तथा वित्तीय संस्थाहरुले भने ग्राहकलाई बोलाइ–बोलाइ सेयर कर्जा दिन थालेका छन् ।
विगतमा ब्रोकरमार्फत मार्जिन लेन्डिङ सुरु गर्न लगानीकर्ताले नेप्से तथा धितोपत्र बोर्डमा ठूलै दबाब दिएका थिए । तर, अहिले यो सुरु भएको ३ महिना बितिसक्दा पनि लगानीकर्ताले खासै चासो देखाएका छैनन् । सेवा सुरु भएको लामो समय व्यतीत भइसक्दा पनि लगानीकर्ताको आकर्षण नदेखिएपछि नेप्सेले यसको कार्यविधिमै संशोधन गर्नुपर्ने आवश्यकता महशुस गरेको हो । सोही अनुसार नेप्सेले यससम्बन्धी प्रक्रियासमेत अघि बढाइसकेको छ ।





