ऋणपत्र निष्काशन गर्ने अनुमति माग्दै एभरेष्ट बैंक नेपाल धितोपत्र बोर्ड पुगेको छ। राष्ट्र बैंकको नीति र आफ्नो पूँजीकोष बलियो बनाउन पछिल्लो समय वाणिज्य बैंकहरु ऋणपत्र बिक्रीमा जुटेका छन्।
एभरेष्ट बैंक (EBL) ले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने बोर्डमा आवेदन दिएको छ। बैंकले ७ वर्षे अवधिको एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।
बैंकले निष्काशन गर्न लागेको कुल १० लाख कित्तामध्ये बैंकले ४० करोड रुपैयाँबराबरको ४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने छ भने बाँकी ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ।
एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको बैंकको उक्त ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ। ऋणपत्र २०८३ मा परिपक्क हुनेछ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन् भने फाइनान्स कम्पनीहरु समेत वाणिज्य बैंकहरुले भन्दा बढी ब्याज दिएर ऋणपत्र निष्काशनको तयारी गरीरहेका छन्।






