काठमाडौं : बैंकहरुले मंसिर महिनामा कायम भएको बेस रेट (आधार दर) धमाधम सार्वजनिक गरिरहेका छन् । त्यसो त अहिले पुस महिना पनि अन्तिमतिर आउँदैछ । तर बैंकहरुले अर्को महिनाको पनि मध्यतिर पुगेपछि मात्र अघिल्लो महिनाको आधार दर सार्वजनिक गर्ने गरेका छन् । यसआधारमा अब पुसको आधार दर माघ दोस्रो सातातिर मात्र सार्वजनिक हुनेछ । यसमा पनि सबै बैंकहरुले अघिल्लो महिनाको आधार दर सार्वजनिक गरेको देखिंदैन ।
यद्दपि, केही बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा आधारदर सार्वजनिक गर्दै आएका छन् । यसर्थ, केही बैंकको अहिले पनि असोज वा कात्तिकमा कायम भएकै बेस रेट देखिन्छ । आधार दरकै आधारमा ब्याजदर निर्धारण हुने भएकाले यसलाई निकै महत्वपूर्ण मानिन्छ । आम लगानीकर्ता, बचतकर्ता र ऋणीहरुले यसलाई विशेष ध्यान दिने गर्छन् । बैंकहरुले आधार दरमा निश्चित प्रतिशत प्रिमियम थपेर ग्राहकसँग लिने ब्याजदर निर्धारण गर्छन् । मंसिरको तथ्यांक अनुसार बैंकहरुको आधार दर क्रमशः घट्दै गएको देखिन्छ ।




