हकप्रदको भारी बोक्न कठिन भएपछि लगानीकर्ताले संस्थापक शेयर पन्छाउन थालेका छन्। संस्थापक शेयर पन्छाउने क्रम बढेसँगै दोस्रो बजारमा बिक्री चाप बढेको छ। आइतबारसम्म नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको शेयर कारोबारमा सबैभन्दा बढी भूमिका संस्थापक शेयरको छ।
यस साता संस्थापक शेयर मात्रै ११ कम्पनीका पाँच लाख ६७ हजार कित्ता कारोबार भएका छन्। जसमा सबैभन्दा बढी ज्योति विकास बैंकको एक लाख आठ हजार संस्थापक शेयर रहेको छ भने दोस्रोमा देवः विकास बैंकको ६१ हजार कित्ता शेयर कारोबार भएको छ। गएको एक सातामा सबैभन्दा बढी शेयर कारोबार हुने २० कम्पनीको सूचीमा ११ कम्पनीका संस्थापक शेयर परेका छन् भने धेरै कित्ता कारोबार हुने १० कम्पनीको सूचीमा सात कम्पनीका संस्थापक नै छन्।
हकप्रदको भारी बिसाउन, तुलनात्मक रूपमा मूल्य सस्तो भएर, घरायसी नामसारी र केन्द्रीय बैंकको नियमले संस्थापक शेयरको बढी कारोबार भएको अधिवक्ता तथा शेयर विश्लेषक ज्योति दाहालको भनाई छ। 'बैंक वित्तीय संस्थाको चुक्ता पूँजी बढाउन केन्द्रीय बैंकको निर्देशन थियो। पूँजी वृद्धिका लागि संस्थापकले हकप्रद शेयर किन्नै पर्ने बाध्यता भयो। सोही संस्थापक शेयरको मात्रा बढी भएपछि उनीहरूले तरलता व्यवस्थापन गर्न ती शेयरलाई बिक्री गर्ने क्रम बढेको छ' दाहालले भने।
संस्थापक शेयर साधारण शेयरको तुलनामा सस्तो हुने तर लाभांश लगायत अन्य गतिविधिमा बराबरी जसो अधिकार हुने भएकोले दीर्घकालीन लगानीकर्ताको रोजाइमा संस्थापक शेयर पर्न थालेको हो। घरायसी नामसारी र अंशबन्डाले समेत संस्थापक शेयरको कारोबार बढेको अनुमान नेपाल स्टक एक्सचेन्जका एक अधिकारी छ।





