मोबाइल र इन्टरनेट बैंकिङमा सीमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मोबाइल र इन्टरनेट बैंकिङमा सीमा

काठमाडौं,  पछिल्लो समय चिनियाँ ‘ह्याकर’को निसानामा परेका मुलुकका बैंकले प्रदान गर्दै आएका सेवा सुविधामा सीमा निर्धारण गरिएको छ। बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई दिँदै आएको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवामा नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गरेको हो।

मोबाइल, इन्टरनेट बैंकिङ सेवामार्फत ग्राहकले घर तथा अफिसमै बसेर पैसा पठाउने, बिल भुक्तानी गर्ने, मोबाइल रिचार्ज, ‘अनलाइन सपिङ’ सहज हुने भए पनि राष्ट्र बैंकले सीमा तोकेको छ। नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थामा खाता भएका सर्वसाधारणले इन्टरनेट बैंकिङ् सेवामार्फत मासिक अधिकतम ३० लाख रुपैयाँसम्मको कारोबार गर्न पाउने छन्। ग्राहकले प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्म कारोबार गर्न पाउने राष्ट्र बैंकले जनाएको छ। तर, यस सेवाअन्तर्गत बैंक तथा वित्तीय संस्थाको खातामा मासिक बढीमा ५० लाख रुपैयाँ ट्रान्सफर गर्न सकिने छ।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले प्रतिदिन बढीमा ५० हजार रुपैयाँसम्मको कारोबार गर्न सक्नेछन्। यो सेवा लिएका ग्राहकको हकमा मासिक अधिकतम दुई लाख रुपैयाँसम्मको कारोबार गर्न सक्छन्। मोबाइल, इन्टरनेट बैंकिङलगायत क्युआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यही व्यवस्था लागू हुने राष्ट्र बैंकले जनाएको छ।त्यसैगरी, सर्वसाधारणले रुचाएको मोबाइल वालेट योजनाअनुसार दैनिक अधिकतम एक लाख र मासिक पाँच लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने छ। यो सेवा लिएका ग्राहकले अन्य बैंक वा अर्काे वालेटमा रकम ट्रान्सफर गर्दा प्रतिदिन २५ हजार तथा मासिक बढीमा ५० हजार रुपैयाँ निर्धारण गरिएको छ।

सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर लगायत शुल्कको हकमा माथिका सीमा लागू नहुँने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार, खानेपानी, शिक्षण, स्वास्थ्य, हवाई, यातायात सेवा, होटल, सामाजिक सुरक्षा भत्ता, बिमा प्रिमियम लगायत कारोबारको भुक्तानी गर्दा सीमा लागु नहुने जनाइएको छ।

Read More