माघ १ गतेदेखि सबै वाणिज्य बैंकहरुमा गोएएमएल प्रणाली लागू हुने भएको छ। वाणिज्य बैंकहरुले माघ १ देखि लागू गर्ने भए पनि विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने यो प्रणाली आगामी आर्थिक वर्षबाट मात्रै थाल्ने छन्। हाल वाणिज्य बैंकहरुमा गरिएको परीक्षण सफल भएको राष्ट्र बैंकले जनाएको छ।
गोएएमएल लागू भएपछि पैसा वा चेक जम्मा गर्नेको विवरण सिस्टमबद्ध हुनेछ। जुन विवरण राष्ट्र बैंकमार्फत नियमन हुनेछ। राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले अपराधिक तथा आतंकवादी क्रियाकलापबाट वित्तीय क्षेत्रमा हुन सक्ने जोखिमलाई घटाउन यो प्रणाली महत्वपूर्ण रहेको बताए। यसलाई एन्टीमनी लाउन्ड्रिङ सिस्टम पनि भन्ने गरिन्छ।
राष्ट्र बैंकका अनुसार अपराधिक तथा अवैधानिक बाटोबाट आर्जित भएको पैसा बैंकमा जानबाट रोक्न यो सिस्टमले काम गर्नेछ। विश्वका कतिपय देशहरुमा समेत यही प्रणाली लागू भएकाे ढकालले बताए।
‘पहिले एउटा राष्ट्र बैंककै निश्चित फर्म्याटमा बैंकहरुले विवरण पठाउने गरेकोमा अब मान्यताप्राप्त गोएएमएल सिस्टममा रहेर पठाउने छन्’ ढकालले भने ‘एन्टी मनी लौन्ड्रिङको अनुसन्धान गर्न, आतंकवादी गतिविधिबाट वित्तीय क्षेत्रमा हुन सक्ने जोखिम निराकरण गर्न यसले मद्दत पुग्छ।’





