काठमाडौं : सेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन) लाई भित्र्याउने प्रक्रिया धितोपत्र बोर्डमा नयाँ नेतृत्व आएपछि मात्रै अघि बढ्ने भएको छ । हाल बोर्ड अध्यक्षविहीन छ । तथापि, अर्थ मन्त्रालयले नेतृत्व छनोट प्रक्रिया अघि बढाइसकेको छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘बोर्डमा नयाँ नेतृत्व चयन भएपछि आवश्यक अध्ययन, अनुसन्धान गरेर एनआरएनको लगानी भित्र्याउन नयाँ ढंगबाट प्रक्रिया अघि बढ्नेछ ।’ पुँजी बजार अघि बढाउन एनआरएनको प्रत्यक्ष लगानी आवश्यकता महसुस गरिएको छ ।
लामो समयदेखि एनआरएनलाई लगानी गर्न बाटो खुला गर्ने भनिए पनि अहिलेसम्म यस कामले मूर्त रुप लिन सकेको छैन । आम लगानीकर्ताले पनि एनआरएन भित्रिएपछि पुँजी बजारले फड्को मार्ने अपेक्षा गरेका छन् । यता, एनआरएनएहरुले पनि सम्बन्धित निकायले अध्ययन, अनुसन्धान गरेर स्पष्ट नीति ल्याउन माग गर्दै आएका छन् । उनीहरुले निश्चित अवधिपछि मुनाफा तथा लगानी फिर्ता लैजाने नीति लिखित रुपमा व्यवस्था गरिनुपर्ने माग गरेका छन् ।





