पिओएस (POS) मेसीन क्यासलेस कारोबार गर्ने माध्यम हो । जसबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन् । दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, हवाई टिकट सिनेमा हल लगायत पैसाको कारोबार गरिने जुनसुकै स्थानहरुमा पनि यो मेसिनको प्रयोग गर्न सकिन्छ । एटीएम वा बैंकमै गएर नगद निकाल्नुपर्ने झन्झटलाई यो सिस्टमले निर्मूल पार्नेछ । साथमा पैसा हराउने अथवा लुटिने लगायतका समस्याबाट पनि बच्न सकिन्छ । जसको प्रयोग समुन्नत मुलुकहरुमा अत्याधिक हुने गर्दछ । यस किसिमको कारोबार बढ्दै गयो भने नेपाल राष्ट्र बैंकलाई नोट छापीरहनु पर्दैन । नोट छाप्दा विदेशीने मोटो रकमको बचत हुनुका साथै डिजिटल फाइनान्स पूर्ण रुपमा कार्यान्वयनमा आउने बताइएको छ ।
डिजिटल फाइनान्सको प्रयोग
नेपालको अर्थतन्त्रमा आर्थिक कारोबार अनौपचारिक ढंगले भइरहेको छ । हामी भुक्तानीका लागि नगद प्रयोग गर्न चाहान्छौँ, चेक प्रयोग गर्न चाहँदैनौँ । अझ डिजिटल प्रविधितर्फ त ध्यानै छैन । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ध्यान केही वर्षअघि देखि यस क्षेत्रमा लागिरहेको छ । भुक्तानी प्रणालीलाई कसरी डिजिटलाइज गर्ने, अर्थतन्त्रलाई कसरी औपचारि क्षेत्रमा ल्याउने, कसरी चेकको प्रयोग बढाउने, कसरी नगदको प्रयोग घटाउने भन्नेतर्फ नेपाल सरकार र राष्ट्र बैंकले कदम चाल्दै आएका छन् ।





