काठमाडौं : सन् २०१९ मा नेपाली धितोपत्र बजारले फड्को मार्ने अपेक्षा गरिएको थियो । तर, लगानीकर्ताको अपेक्षा अनुसार बजार सुधारका कतिपय काम हुन सकेन । अनि बजारले पनि लगानीकर्ताको अपेक्षा पूरा गर्न सकेन । अब सन् २०२० मा त्यसले पूर्णता पाउने आम लगानीकर्ताको आशा र अपेक्षा रहेको छ । बैंकलाई ब्रोकर लाइसेन्स, मार्जिन कारोबार पूर्णरुपमा सञ्चालन, पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको प्रभावकारी कार्यान्वयन लगायतका कामले गति लिने अपेक्षा आम लगानीकर्ताको रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैंकिङ प्रणालीलाई पनि एकीकृत गरी पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सन् २०१९ को पहिलो दिन सुरुवात गरेको हो । यो पुँजी बजारका लागि सुधारको महत्वपूर्ण पहल कदमी थियो । अनलाइन कारोबार कात्तिक २० गते देखि नै सुरु भएपनि बैंकिङ प्रणाली भने एकीकृत गरिएको थिएन ।
यता, लामो समयदेखि चर्चामा रहेको मार्जिन कारोबार पनि सन् २०१९ मै सुरुवात भएको छ । यद्दपि, महँगो ब्याज र अन्य केही प्राविधिक कारणहरुले यसमा लगानीकर्ता आकर्षित हुन भने सकेका छैनन् । यसमा देखिएको समस्या नयाँ वर्ष २०२० मा पूरा हुने अपेक्षा गरिएको छ ।





