हिमाल दोलखा हाइड्रोपावरले अर्को साता नेपाल स्टक एक्सचेञ्जमा साधारण शेयर (आईपीओ) सूचीकृत गर्ने तयारी गरेको छ। बिक्री नभएको शेयर प्रयाभूतिकर्ताहरुले सकारेपछि हाइड्रोपावरको शेयर आगामी साता नेप्सेमा सूचीकृत हुने तयारीमा रहेको हाइड्रोपावरका एक अधिकारीले बताए।
मेरोलगानीसँगको कुराकानीमा ती अधिकारीले भने ‘प्रत्याभूतिकर्ताहरुले सबै पैसा तिरिसकेका छन्। कम्पनीको शेयर आगामी साता नेप्सेमा सूचीकृत गर्ने तयारी भइरहेको छ,’।
शेयर प्रत्याभूतिकर्ताहरुले कबुल गरेको शेयर सकार्न इन्कार गरेपश्चात हाइड्रोपावरले जारी गरेको आईपीओ शेयर सूचीकरणमा ढिलाई भइरहेको थियो। सोही विवादका कारण भदौ ५ गते बाँडफाँड भएको कम्पनीको शेयर नेप्सेमा सूचीकरण हुन सकेको थिएन।
हाइड्रोपावरले गत असार २५ गतेदेखि सर्वसाधारणका लागि कूल ७६ लाख ७२ हजार २१० कित्ता साधारण शेयर (कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सहित) निष्कासन गरेको थियो। निष्कासन गरिएको कूल शेयरमध्ये करिब ६० प्रतिशत (४५ करोड ५३ लाखको) बिक्री नभएपछि सो शेयर प्रत्याभूतिकर्ताहरुलाई स्वीकार्न बोर्डले निर्देशन दिएको थियो।





