काठमाडौं । शेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तिर्न लगानीकर्तामाथि दबाब पर्न थालेको छ । वित्तीय संस्थाले पुस मसान्तभित्र ब्याज तिर्न दबाब दिन थालेपछि लगानीकर्ताहरुले शेयर बिक्री गर्न थालेका हुन् ।
जसका कारण शेयर थोरै अंकले ओरालो लाग्न सक्ने सम्भावना देखिएको छ । हिजो मंगलबार सामान्य अंकले नेप्से ओरालो लाग्नुलाई पनि यही कारणको रुपमा लिइएको छ ।
बैंक÷वित्तीय संस्थाहरू अहिले पुससम्मको वित्तीय विवरण प्रकाशित गर्ने तरखरमा छन् । त्यसअघि नै ब्याज भुक्तानी गर्नुपर्ने बाध्यता शेयर लगानीकर्तालाई छ ।
बैंक/वित्तीय संस्थाले ऋण लगानी गर्नेभन्दा पनि ऋण उठाउने समय भएकाले लगानीकर्ताहरु शेयर खरिद गर्नेतिरभन्दा बिक्री गर्नेतिर लागेका छन् ।
पुस मध्यतिर शेयर बिक्रीको चाप बढ्ने र शेयर मूल्य पनि घट्न सक्ने भएकाले लगानीकर्ताहरू त्योभन्दा पहिले नै शेयर बिक्री गरेर ब्याज बुझाउने तयारीमा लागेका छन् । उनीहरु मानसिक रूपमा पुस मसान्तकोे प्रभाव पर्नुअघि नै शेयर बिक्रीको तयारीमा देखिएको धितोपत्र बोर्डका एक कर्मचारीले बताए । ‘बैंक/वित्तीय संस्थाले ऋण लगानी गर्नेभन्दा पनि ऋण उठाउने समय भएकाले लगानीकर्ताहरु शेयर खरिद गर्नेतिरभन्दा बिक्री गर्नेतिर लागेका छन्,’ उनले भने, ‘बैंकले ब्याज भुक्तानी गर्न दबाब दिएका कारण पनि शेयर बजारमा गिरावट आएको छ ।’





