अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना कार्यकारी अधिकृत (सीईओ) डेनिस म्युलेनबर्गलाई निलम्बित गरेको छ। नियामकको विश्वास जित्न नसकेको भन्दै उनलाई कम्पनीको सीईओबाट हटाइएको हो ।
म्युलेनबर्गको स्थानमा कम्पनीका अध्यक्ष डेभिड काल्होनलाई जनवरी १३ देखि सीईओको जिम्मेवारी दिइने बताइएको छ।
यसका साथै म्युलेनबर्गलाई हटाउनुको मुख्य कारण कम्पनीको ७३७ म्याक्स दुई छुट्टै दुर्घटनामा पर्नुलाई मानिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। बोइङको सबैभन्दा राम्रो बिक्री भएको विमान ७३७ म्याक्स दुई छुट्टै दुर्घटनामा परेसँगै विश्वभर यो मोडलको विमानमा प्रतिबन्ध लगाइएको छ।
योसँगै लामो समयदेखि कम्पनी दबाबमा रहेको छ। उक्त दुर्घटनालाई लिएर अमेरिकी फेडरल एभिएसन एजेन्सी (एफएए) ले १२ डिसेम्बरमा बोइङमाथि थप दबाब सिर्जना गर्दै सिईओलाई पद छोड्न भनेको थियो। बैठकमा एफएएका अधिकारी र दुर्घटनामा मारिएका व्यक्तिहरुका परिवारजनहरुले म्युलेनबर्गको राजिनामा माग गरेका थिए।
कम्पनीमाथि बोइङ ७३७ म्याक्स विमानको प्राविधिक कमी-कमजोरीलाई बेवास्ता गरेको आरोप लाग्दै आएको छ। यद्यपी कम्पनीले भने आफ्नो सफ्टवेयर परिवर्तन गरी अब उडानका लागि पूर्णरुपमा सुरक्षित रहेको दाबी गरे पनि नियामकहरूले भने अनुमति दिएका छैनन्। तत्काल लागू हुने गरी सञ्चालक बोर्डको नन एक्जुकेटिभ चेयरम्यान बोर्डका सदस्य लरेन्स केल्नरलाई तोकिएको छ।
सीईओलाई निलम्बित गरेको खबरसँगै सोमबार कम्पनीको शेयरको मूल्य पनि दिनको शुरुवातमा २.५ प्रतिशत बढेको थियो। यसअघि गत अक्टोबरमा कम्पनीको बोर्डले अध्यक्षबाट म्युलेनबर्गलाई हटाउने निर्णय गरेको थियो। उनलाई बोर्डबाट हटाएपछि प्रतिबन्धित कम्पनीको उडान सुचारु गर्न सहयोग मिल्ने बताइएको छ।





