काठमाडाैं - मुलुकका बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष ०७५/७६ को नाफाबाट सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने भएका छन्। गत आवमा अधिकांश बैंकहरुले नगद लाभांशमा जोड दिएकामा चालु आवमा बोनस र नगद दुवै लाभांश वितरण गर्ने जनाएका छन्।
गत आवमा माछापुछ्रे, सानिमा, ग्लोबल आइएमई, एभरेस्ट, नेपाल बंगलादेश, स्ट्यान्डर्ड चार्टर्ड, सनराइज बंैकले नगद लाभांश मात्र वितरण गरेकामा चालु आवमा नगद र बोनस दिने भएका छन्। बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार चालु आवमा सबैभन्दा बढी लाभांश एनएमबी र सबैभन्दा कम सिभिल बैंकको रहेको छ। एनएमबीले लगानीकर्तालाई १४ प्रतिशत नगद र २१ प्रतिशत बोनस गरी ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
चालु आवको असोज महिनामा ओम डेभलपमेन्ट बैंकसँग एकीकृत कारोबार सुरु गरेको बंैकले एक सय ५० भन्दा बढी शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। सबैभन्दा कम लाभांश वितरण गर्नेमा सिभिल बंैक रहेको छ। बैंकले गत आवको नाफाबाट ६.५७ प्रतिशत नगद लाभांश विवरण गर्नै जनाएको छ।
त्यसैगरी, नविल बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बंैकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस वितरण गर्ने जनाएको छ।





