आधुनिक भुक्तानी प्रणालीका उपकरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आधुनिक भुक्तानी प्रणालीका उपकरण

विश्वमा प्रविधिको विकास, सरकारी रूपमा हुने प्रोत्साहन तथा नियमन, निजीक्षेत्र तथा सार्वजनिक क्षेत्रको संयुक्त प्रयास, जनताको प्रविधिप्रतिको जिज्ञासा र उपयोग एवम् इन्टरनेट तथा कम्प्युटरजस्ता आधुनिक उपकरणको सहज पहुँचले गर्दा आधुनिक भुक्तानी प्रणालीको विकासले तीव्ररूप लिएको छ । विकसित देशहरूमा इलेक्ट्रोनिक व्यापार तथा भुक्तानीको पहुँच अधिकांश जनताको दैनिक क्रियाकलापसँग सम्बद्ध छ । नेपालजस्ता विकासोन्मुख देशहरूमा यस सम्बन्धी रणनीतिक योजना तयार गर्ने र कार्य प्रारम्भ गर्ने अवस्था आइपुुगेको छ । यस्तोमा हाल नेपालमा प्रचलित ‘फिनटेक’ उपकरणहरू निम्न रहेका छन्, जसलाई व्यापक बनाउन आवश्यक देखिन्छ ।

एटीएम

नेपालमा विद्युतीय माध्यमबाट गरिने कारोबारको प्रमुख र लोकप्रिय एटीएमबाट ग्राहकले जुनसुुकै समयमा अन्य कुनै व्यक्तिको सहयोगविना कारोबार गर्न सक्छ । यसलाई हालसम्म बैंकिङ क्षेत्रबाट सञ्चालन भइरहेको र भविष्यमा गैरबैंकिङ क्षेत्रबाट पनि सञ्चालन हुन सक्छ । कारोबार गर्न कार्ड र पासवडका रूपमा पिनको आवश्यकता पर्छ । यो कारोबार दोहोरो प्रमाणीकरणबाट सुरक्षित गरिएको हुन्छ । यो उपकरणबाट भएको कारोबार बैंक खाताबाट डेबिट/क्रेडिट हुन जान्छ । 

कार्ड म्यानेजमेन्ट सिस्टम :

बैंकमा खाता खोल्दाको समयमा नै उपलब्ध गराइएको केवाईसी फर्मका आधारमा बैंकले ग्राहकलाई पिन नम्बरसहित कार्ड उपलब्ध गराउँछ । जुन कार्डका माध्यमबाट खातामा रहेको रकम एटीएमबाट झिक्न र पसको सहायताबाट वस्तु वा सेवा किनेको बिल भुक्तानी गर्न सकिन्छ । बैंकहरूले कार्ड निष्कासन गर्दा स्वीचमा कार्ड लिंक गरी जारी गरेका हुन्छन् । कार्डको उद्देश्य र कार्यप्रकृति फरक भए तापनि सुरक्षा विशेषता एकै प्रकारका हुन्छन् । 

इन्टरनेट मोबाइल बैंकिङ

इन्टरनेटका माध्यमबाट आफ्नो कम्प्युटरमा बैंकबाट युजरनेम दर्ता गराई पासवर्ड लिएपछि बैंकले उपलब्ध गराएको सुविधा उपभोग गर्न सकिन्छ । यसबाट धेरै प्रकारका बैंकिङ कारोबार गर्न सकिन्छ । बैंकले ग्राहकलाई मोबाइल बैंकिङ सुविधा उपलब्ध गराउँछ । बैंकले उपलब्ध गराएको एप डाउनलोड गरी मोबाइलबाट बैंकिङ कारोबार गर्न सकिन्छ । मोबाइलबाट भुक्तानीसम्बन्धी कार्यहरू भइरहेकोमा भविष्यमा अन्य कार्यहरू पनि थप गर्न सकिने सम्भावना रहेको छ । वस्तु वा सेवा किनेको भुक्तानी र ट्रान्सफर कारोबारहरू पनि गर्न सकिन्छ । 

शाखारहित बैंकिङ : 

बैंकिङ व्यवसाय भनेको अति संवेदनशील र जोखिमयुक्त व्यवसाय हो । यस परिस्थितिमा अति पिछडिएको र अविकसित क्षेत्रहरूमा पनि बंैकहरूले सेवा विस्तार गर्ने उपाय नै शाखरहित बैंकिङ सेवा हो । यो प्रविधिमा आधारित सस्तो, छिटो र छरितो उपाय हो । यसबाट रकम जम्मा, खर्च, भुक्तानी, बीमा किस्ता भुक्तानी, रकमान्तर, कर्जा लिने, कर्जाको किस्ता बुुझाउने बीमाको प्रिमियम भुक्तानी गर्ने, मौज्दान हेर्नेजस्ता सेवा उपलब्ध भइरहेका छन् । यस प्रविधिबाट बैंकमा रहेको खाताबाट एजेन्टमार्फत सीधै कारोबार गर्न सकिने हुँदा विद्युतीय माध्यमबाट गरिने कारोबारको वृद्धिबाट ग्राहकलाई सहज हुँदै गएको छ । 

घुम्ती एटीएम :

 नेपालको बैंकिङ क्षेत्रमा घुम्ती एटीएमसेवा पनि सञ्चालनमा रहेको छ । एटीएम सेवा उपलब्ध नभएका स्थानहरूमा समेत ग्राहकलाई नगद रकमको आवश्यक पर्न गएमा उक्त सेवा प्रयोग गर्न सकिन्छ । ग्राहकले बैंकको शाखा नभएको स्थानमा पनि मोबाइल एपबाट सूचना पठाएमा बैंकले एसएमएसमार्फत ग्राहकलाई ओटीपी उपलब्ध गराउँछ । निश्चित समयभित्र उक्त ओटीपी लिई एजेन्टलाई दिएमा उसले प्रणालीमार्फत रकम ग्राहकलाई प्रदान गर्छ । कार्ड नभएका ग्राहकले पनि एपमार्फत एसएमएस पठाउने र बैंकले माग गरिएको रकम र ओटीपी उपलब्ध गराएपछि निश्चित समयभित्र नजीकको एटीएममा गई विनाकार्ड रकम प्राप्त गर्न सकिन्छ । 

पस मेशिन :

 पस भनेको त्यस्तो मेशिन हो, जसका माध्यमबाट नगदविना कारोबार गर्न सकिन्छ । यस्ता मेशिन बैंक तथा वित्तीय संस्थाहरू र गैरबैंक तथा वित्तीय संस्थाहरूले समेत व्यवसायीहरूलाई उपलब्ध गराई नेटवर्क विस्तार गरिरहेका छन् । ठूलाठूला डिपार्टमेन्टल स्टोरहरू, मल, अस्पताल, सिनेमा हल, होटल तथ उपभोग्य सामानहरू किन्ने पसलहरूमा यो राख्न थालिएको छ । यसबाट ग्राहकको खातामा भएको रकम घटी वस्तु वा सेवा उपलब्ध गराउने व्यवसायीको खातामा रकम जम्मा हुन्छ । यसबाट रकम साथमा राख्ने, चोरी हुने, हराउने कार्यको अन्त्य हुन्छ । त्यसैले पस कारोबारमा छूट वा पुरस्कारको व्यवस्थाजस्ता प्रर्वद्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक देखिन्छ । 

मोबाइल मनी/इलेक्ट्रिक वालेट

मोबाइल मनी वा इलेक्ट्रोनिक वालेटबाट गरिने कारोवार मुलतः गैरबैंकिङ्ग क्षेत्रबाट सञ्चालन गरिने भुक्तानी सेवाप्रदायकको आधुनिक उपकरण हुन् । गैरबैंक तथा वित्तीय संस्था ट्रान्सफर, उपयोगिता भुक्तानी र वस्तु वा सेवा किन्न सीमा निर्धारण गरिएसम्मको रकम वालेटमार्फत भुक्तानी गर्न सकिन्छ । यस्तो सेवा दिने संस्थाहरूलाई भुक्तानी सेवाप्रदायक संस्था भनिन्छ । 

बैंक तथा वित्तीय संस्थाबाट सञ्चालनमा रहेका आधुनिक भुक्तानीका उपकरणबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा व्यापारिक कारोबारहरू तथा वस्तु वा सेवा किनेको बिल भुक्तानी वा ट्रान्सफर गर्न सहज भएको छ । बैंक तथा वित्तीय क्षेत्रले मर्चेन्टहरूको संख्या वृद्धि गर्न सकिरहेका छैनन् । त्यसैले भएकालाई सहजै कारोबार हुने तथा जोखिम कम गर्ने उपायहरू अपनाउँदा नै बेस हुन सक्छ । मर्चेन्ट र ग्राहक संख्या वृद्धि गर्ने, सानासाना पसललाई समेत आबद्ध गर्ने तथा ग्रामीण भेकसम्मका जनतालाई सेवा विस्तार गर्न आवशयक छ । 

एटीएम पास टर्मिनलहरूबाट विभिन्न प्रकारका कार्डहरूको प्रयोग हुन्छ । कार्ड राखेर पनि रकम नआउने तर मौज्दात घट्ने, बैंकले समयमा नै हिसाब मिलान गरी रकम जम्मा नगरिदिने, जस्ता समस्या यिनमा देखिएका छन् । पिन ह्याक गरी रकम चोरी हुने, पसबाट कारोबार गर्दा ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्नेजस्ता केही व्यवधानहरू देखिएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरू र गैरबैंक तथा वित्तीय संस्थाहरूले दूरसञ्चार सेवाप्रदायक संस्थाहरूबाट उपलब्ध गराएको प्रविधिको सहयोगमा भुक्तानी कारोबारहरूलाई प्रवाह गरिरहेका छन् । दूरसञ्चार सेवाप्रदायक संस्थाहरू आफैले पनि कारोबारहरू गरिरहेका छन् । यी दुई क्षेत्रबाट कारोबार गर्दा कुन मोडेल ठीक भन्ने अवस्था छैन । बैंक तथा वित्तीय संस्थाहरू तथा गैरबैंक तथा वित्तीय संस्थाहरूले आधुनिक भुक्तानी प्रणालीका उपकरणहरूको सञ्चालनमा ध्यान केन्द्रित गर्नुपर्ने र नेपाल सरकार र सम्बद्ध नियमनकारी निकायहरूले यसको निगरानी र नियमन गर्ने कार्यलाई कडाइका साथ लागू गर्नुपर्ने देखिएको छ । 

(लेखक बैंकिङ तथा आधुनिक भुक्तानी प्रणालीका क्षेत्रमा कार्यरत व्यक्ति हुन्)

Read More