काठमाडौँ — कुनै समय थियो, जलविद्युत्को सेयर भनेपछि लगानीकर्ताको हानथाप हुन्थ्यो । लगानीकर्ताले केही नसोची सेयरका लागि आवेदन भर्थे । १० कित्ता सेयर परे पनि ठूलो सम्पत्ति जोडेको र नपरे गुमाएको अभास हुन्थ्यो ।
केही महिनायता परिस्थिति बदलिएको छ । जलविद्युत्को सेयरमा लगानीकर्ताको आकर्षण घट्दो छ । जलविद्युत् कम्पनीको सेयर जसरी भए पनि बेच्ने ध्याउन्नमा लगानीकर्ता देखिन्छन् । यो अवस्था लगानीकर्ताका कारण नभई जलविद्युत् कम्पनीकै कारणले आएको हो ।
संस्थागत सुशासन र पारदर्शिताको अभाव, समयमा आयोजना सम्पन्न नहुनु, निरन्तर लागत बढ्नुलगायत कारण बहुसंख्यक जलविद्युत् कम्पनीको वित्तीय अवस्था नाजुक बन्दै गएको छ । कमजोर वित्तीय अवस्थाको प्रत्यक्ष प्रभाव लाभांशमा पर्छ । यही कारण पछिल्लो समयमा जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको वितृष्णा बढ्दो छ । नेप्से परिसूचक साढे ११ सय विन्दुमा रहँदा १८ जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्य (प्रतिकित्ता एक सय) भन्दा कम छ ।
सरकारले गत वर्षदेखि ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत विभिन्न क्षमताका करिब डेढ दर्जन जलविद्युत् आयोजना छनोट गरिएको छ । जसमध्ये सान्जेन र रसुवागढीले गत वर्ष नै सेयर निष्कासन गरिसकेका छन् । बाँकी आयोजनाले पनि निष्कासनको तयारी गरिरहेका छन् । यही अवस्थामा सेयर बजारमा जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आर्कषण घट्दो छ । यसको असर ‘जनताको जलविद्युत् कार्यक्रम’ मा पर्ने अनुमान छ ।





