शेयर बजारको कुरा चल्दा सर्वप्रथम नेप्से सूचक (ईन्डेक्स) कै चर्चा हुन्छ। अर्थात कोही अब नेप्से एक हजार भन्दा तल जान्छ भन्छन् त कोही छिट्टै २ हजार २०० पुग्छ भन्छन्। त्यस्तै कोही १ हजार २०० कै हाराहारीमा धेरै समय रहन्छ भन्छन्। थरी थरीका मानिस थरी थरीका प्रक्षेपण। लाग्छ ती सबै अन्तर्यामी हुन्।
विश्वमा कसैले पनि शेयर बजारको बारेमा प्रक्षेपण गर्न सक्दैन। कतिपय सुत्रको आधारमा यसको चालको बारेमा आंकलन त गर्न सकिन्छ तर सानो सानो घटनाले पनि यसलाई तरगिंत गर्ने हुनाले ठ्याकै भविष्यवाणी गर्न भने सकिँदैन।
शेयर बजारका अधिकांश लगानीकर्ताहरु नेप्सेको सूचकको छायाँमा परि दिग्भ्रमित भई लगानी निर्णय गर्दा आफ्नो भएको सम्पत्ति गुमाउँँदैछन्। लगानीकर्ताको झुण्डमा यसैको चर्चा चल्छ र कोही अब केही समय पछि सूचक १ हजार बिन्दुमा आएपछि मज्जाले शेयर उठाईन्छ भन्छन् त कोही अब बजारले गति लियो त्यसैले १ हजार ५०० पुगेपछि मात्र आफू त शेयर फालिन्छ भन्छन्। यस्तै यस्तै भनाई फेसबुकको वालमा पनि पोष्ट भएको देख्न सकिन्छ।
तर, धेरै कम लगानीकर्तालाई मात्र सूचक कसरी घट बढ हुन्छ भन्ने कुराको ज्ञान हुन्छ। त्यसैले आम तथा सोझासाझा लगानीकर्ताहरु यस्तै झुण्डमा तथा फेसबुकको वालमा पोष्ट भएको सूचक सम्बन्धी भ्रमको जालबाट आफूलाई मुक्त गर्न नसकी गलत निर्णयहरु लिईरहेका हुन्छन् जसको फाईदा टाठा बाठा तथा खेलाडी लगानीकर्ताले उठाई रहेको हामी पाउँदछौं।
अत: यो सूचक के हो र यसको गणना कसरी गरिन्छ भन्ने कुराको जानकारी भएमा लगानीकर्ताले यसबाट लाभ उठाउन भने सक्दछन्।
- नेपाल स्टक एक्सचेञ्जको इण्डेक्सको गणना कसरी हुन्छ ?
कुनै पनि स्टक मार्केटको बजार सूचक उक्त बजारमा सूचीकृत कम्पनीहरुको भारित औसत हो जसको गणना ती स्टकको बजार मूल्यको आधारमा गरिन्छ। बजारको बारेमा वर्णन गर्नको लागि लगानीकर्ता तथा वित्तीय ब्यवस्थापकहरुले प्रयोग गर्ने औजारको रुपमा यसलाई लिन सकिन्छ। बजार सूचकले समग्र स्टक मार्केटको प्रतिनिधित्व गर्नुको साथै विगत देखिको बजारको परिवर्तनलाई ट्रयाक गरिरहेको हुन्छ।
लगानीकर्ता तथा अन्य बजारका सहभागीहरुले यसको प्रयोग स्टक मार्केटको पर्फरमेन्सको अध्ययन गर्नको लागि गर्छन्। साराशंमा भन्दा सूचक १ प्रतिशत बढ्यो भन्नुको अर्थ उक्त स्टक मार्केटमा सूचीकृत कम्पनीको मूल्यमा औसतमा १ प्रतिशतको बढोत्तरी भएको हो भन्ने बुझिन्छ।
स्टक मार्केटको सूचकको गणना गर्दा उक्त बजारको आधार वर्षको सूचक, आधार वर्षको बजार पूँजीकरण र गणना गर्ने दिनको बजार पूँजीकरणलाई आधार मानिन्छ। यहाँ बजार पूँजीकरण भन्नाले सूचीकृत सबै कम्पनीको शेयर संख्यालाई त्यस दिनको बजार मूल्यले गुणन गर्दा हुन आउने कूल योगफललाई जनाउँदछ।
उदाहरणको लागि 'क' भन्ने कम्पनीको शेयर संख्या १० हजार कित्ता छ र त्यसको बजार मूल्य १२० छ। त्यस्तै 'ख' भन्ने कम्पनीको शेयर संख्या ५ हजार कित्ता छ र त्यसको बजार मूल्य ९८ रुपैयाँ छ भने कूल बजार पूँजीकरणको गणना निम्न बमोजिम गरिन्छ।






