काठमाडौ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार दुई सातादेखि उकालो लाग्दै आएको छ । दुई सातामा नेप्से करिव ६० अंकले बृद्धि भएको छ । दुई साताअघि ११२० अंकको हाराहारीमा रहेको नेप्से अहिले ११७० अंक माथि पुगेको छ ।
शेयर बजार उकालो लाग्नुलाई लगानीकर्ताले शुभ संकेतको रुपमा लिएका छन् । बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश बाँडने घोषणा गरेकाले पनि शेयर बजार उकालो लाग्न पुगेको हो । केही लघुवित्त र बिमा कम्पनीले लाभांश घोषणा गर्ने तयारी गरिरहेकाले पनि शेयर बजार बढ्न पुगेको स्टक ब्रोकरहरु बताउँछन् ।
धेरैजसो कम्पनीले पुस मसान्त भित्र साधारणसभा गर्दै छन् । ती कम्पनीको लाभांश बुक गर्नका लागि लगानीकर्ताले शेयर खरिद गर्न थालेकाले पनि बजार बढन पुगेको बिज्ञहरुको भनाइ छ । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ । पुस मसान्तभित्र वार्षिक साधारणसभा गरिसक्नु पर्ने व्यवस्थाले पनि नेप्सेमा सूचीकृत कम्पनीलाई अहिले लाभांश घोषणा गर्न र वार्षिक साधारणसभा गरिसक्नु पर्ने बध्यता छ ।





