साउदी अरामको बन्यो विश्वको सबैभन्दा ठूलो सूचीकृत कम्पनी, पहिलो कारोबार मै शेयरमूल्य १० प्रतिशत बढ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साउदी अरामको बन्यो विश्वको सबैभन्दा ठूलो सूचीकृत कम्पनी, पहिलो कारोबार मै शेयरमूल्य १० प्रतिशत बढ्यो

साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामको विश्वको सबैभन्दा ठूलो सूचीकृत कम्पनी बनेको छ। बुधबार रियाद स्टक एक्सचेञ्जमा सूचीकृत भएको पहिलो दिनमा नै कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

कम्पनीको शेयर पहिलो दिनको कारोबारमा अपेक्षा गरिएभन्दा धेरैले बढेको हो। योसँगै अरामको सबैभन्दा धेरै बजार पूँजीकरण भएको विश्वको सबैभन्दा ठूलो सूचीकृत कम्पनी बनेको छ।

बुधवारको डेब्यू मा रियाद स्टक एक्सचेञ्जमा बिहान १०ः३० बजे कारोबार शुरु हुँदा नै कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३५.२० रियाल पुगेको थियो। प्रतिकित्ता ३२ रियालबाट सुरु भएको कम्पनीको शेयर मूल्य उक्त दिन दैनिक वृद्धिको सीमा अर्थात् १० प्रतिशतभन्दा धेरैले बढेर ३५.२ रियाल पुगेको थियो। योसँगै कम्पनीको बजार पूँजीकरण १८ खर्ब ८० अर्ब डलर पुगेको छ। अरामकोको सूचीकरणसँगै साउदी अरब विश्वको नवौँ ठूलो शेयर बजार बनेको छ ।

अरामकोको बजार पूँजीकरण विश्वको सबैभन्दा ठूलो पूँजीकरण रहेको कम्पनी एप्पलको भन्दा झण्डै ७ खर्ब डलर बढी हो । एप्पलको बजार पूँजीकरण ११ खर्ब ९० अर्ब डलर रहेको छ।

अरामकोले स्थानीय बजारमा कम्पनीको १.५ प्रतिशत शेयर सूचीकृत गरेको थियो। साधारण शेयर (आईपीओ) निष्कासनबाट कम्पनीले २५ अर्ब ६० करोड डलर उठाएर नयाँ रेकर्ड कायम गरेको थियो।

यसभन्दा पहिले चिनीयाँ कम्पनी अलीबाबाले सबैभन्दा धेरै सार्वजनिक निष्काशन गरेर रेकर्ड कायम गरेको थियो। अलीबाबाले सन् २०१४ मा अमेरिकामा सूचीकृत भएको समयमा २५ अर्ब डलर जुटाएको थियो। यो विश्वको सबैभन्दा ठूलो आईपिओका रूपमा रहेको थियो।

गत हप्ता कम्पनीको प्रतिकित्ता शेयरको मूल्य सार्वजनिक गर्दा अरामकोको बजार पूँजीकरण १७ खर्ब डलर रहेको थियो।

Read More