वित्तीय साक्षरतालाई सामान्यतया व्यक्तिहरूले वित्तीय स्रोतसाधनलाई आफ्नो भलाइको लागि प्रभावकारी रूपमा प्रयोग गर्न हासिल गर्ने ज्ञान तथा शिपको रूपमा परिभाषित गरेको पाइन्छ । यसले वित्तीय सेवा उपलब्ध गराउनेहरूलाई समेत उनीहरूको सेवा वा उत्पादनहरूको (प्रोडक्ट) बारेमा राम्ररी बुझ्न, उक्त उत्पादनसँग जोडिएको जोखिमको घनत्व एवम् गहिराइको पहिचान गर्न र त्यसलाई व्यवस्थापन गर्न तथा उनीहरूका ग्राहक (उपभोक्ता) को वास्तविक आवश्यकतालाई पहिचान गरी आफ्ना उत्पादनहरूलाई परिमार्जन गर्न सहयोग पु¥याउँछ । वित्तीय साक्षरताले समग्र वित्तीय प्रणालीमा विश्वासको अभिवृद्धि गर्दछ र सहभागितामा वृद्धि गर्न मद्दत गर्दछ ।
नेपालमा वित्तीय साक्षरता आज सबै स्तरका मानिसहरूलाई अत्यन्त आवश्यक देखिएको छ । उच्च शिक्षा हासिल गरेका ठूला ओहदाका मानिसमा समेत कतिपय वित्तीय कारोबारको पूर्ण ज्ञान नभएको स्थिति छ । उपयुक्त वित्तीय शिक्षाको अभावमा उचित निर्णय लिन नसक्दा गम्भीर आर्थिक दुर्घटना हुन गई ठूलो वित्तीय क्षति समेत व्यहोर्नुपर्ने र समाजमा नकारात्मक असर पर्ने अवस्था पनि देखिएको छ । यद्यपि, मानिसहरूको उमेर समूह, शैक्षिक योग्यता, आर्थिक अवस्था आदिका कारण विभिन्न वर्गका मानिसहरूका लागि फरक फरक वित्तीय शिक्षा आवश्यक हुने अवस्था पनि रहन्छ ।
वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान जस्तैः बजेट निर्माण गर्ने, आम्दानी र खर्चको विवरण तयार गर्ने, बचत गर्ने तथा ऋण लिने प्रक्रिया र बीमाका बारेमा धेरै मानिसलाई कम जानकारी हुन्छ । यसले गर्दा उनीहरू अनावश्यक रूपमा ऋणमा डुब्ने, श्रम शोषणमा पर्ने तथा आफ्ना स्रोत र साधनको अनुत्पादक क्षेत्रमा प्रयोग हुन सक्ने जस्ता सम्भावना हुन्छ । त्यसैले न्यून आयस्तर भएका व्यक्तिहरूलाई पैसाको उचित व्यवस्थापन गर्न, पूँजी निर्माणको लागि सहयोग गर्न, उनीहरूको सुरक्षा तथा जीवनमा उपलब्ध विभिन्न अवसरको पहिचान गर्न, पैसाको महत्व बुझ्दै आफ्नो समाजमा भएको सार्वजनिक सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्न सक्षम बनाउन वित्तीय शिक्षाको महत्व हुन्छ ।
मानिसहरू परनिर्भरताबाट आत्मनिर्भरतामा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । यस क्रममा वित्तीय व्यवस्थापनको क्षेत्रमा उनीहरूको भूमिका बढ्दै गएको हुन्छ । उनीहरू आफ्नो भविष्य तथा आफ्नै परिवारको निर्माण गर्दैछन् । उनीहरूको समाज र परिवारप्रति बढ्दै गएको भूमिका तथा आर्थिक जिम्मेवारीका कारण उनीहरूलाई वित्तीय लक्ष्य निर्धारण गर्न, बचत, ऋण, जोखिमबाट बच्न (बचतको प्रयोग, बीमा) तथा समग्र रूपमा वित्तीय व्यवस्थापन बारे जानकारी दिने कार्य वित्तीय साक्षरता हो । यसले भविष्यमा वित्तीय व्यवस्थापन सम्बन्धी निर्णय कसरी गर्ने भन्ने बारेमा सहयोग गर्नेछ ।
पहिलो नियम भनेको पैसा कहिले पनि नगुमाउनुस् । दोस्रो नियम भनेको पहिलो नियम कहिल्यैपनि नबिर्सनुस्।”








