काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले पुस २३ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको साधारण सभा लैनचौर ब्यांकेट, लैनचौरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ५% बोनस सेयर र २०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साथै, ७% अग्राधिकार सेयर साधारण सेयरमा परिणत भएपश्चात पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७६–०७७ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गर्ने कार्यक्रम छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ४ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । हाल एभरेष्टको चुक्ता पुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ छ । प्रस्तावित ५% बोनस सेयर पश्चात पुँजी ८ अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ ।






