काठमाडौँ — शिवश्री हाइड्रो पावर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) विवादमा परेको छ । सूचना लुकाएको भन्दै अन्डरराइटर (प्रत्याभूतिकर्ता) र कम्पनीबीच विवाद बढेपछि आईपीओ निष्कासन अन्योलमा परेको हो । यही कारण सेयरका लागि आवेदन दिने समय सकिएको एक महिनासम्म पनि बाँडफाँट हुन सकेको छैन ।
शिवश्रीले ३३ लाख ५१ हजार १ सय ४० कित्ता (३३ करोड ५१ लाख १४ हजार रुपैयाँ) सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १४ लाख ६७ हजार कित्ता आह्वान भएकोमध्ये नबिकेर बचेको सेयर पनि थप गरी आईपीओ निष्कासन गर्न गत असोज १ मा बोर्डबाट अनुमति पाएको थियो । त्यतिबेला नबिकेको ११ लाख ३६ हजार कित्ता पनि सर्वसाधारणकै सेयरमा थपिएको थियो ।
कम्पनीले असोज १६ देखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्यो । छिटोमा असोज २४ सम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा कात्तिक १५ सम्म आवेदन दिन सक्ने प्रावधान थियो । पहिलो चरणमा सेयर नबिकेपछि एक महिना (कात्तिक १५ सम्म) नै आवेदन संकलन गरियो । सो अवधिमा जम्मा ७ करोड २० लाख रुपैयाँ (७ लाख २० हजार कित्ता) बराबरको सेयरका लागि मात्र आवेदन पर्यो । करिब १६ हजार आवेदन परेको थियो ।
त्यसपछि कात्तिक २७ सम्म संस्थापका सञ्चालकका लागि आवेदन आह्वान गरियो । त्यसमा कुनै पनि आवेदन परेन । अहिले यो कम्पनीको करिब सवा २६ करोड रुपैयाँ बराबरको सेयर बिकेको छैन । सेयर बिक्री नहुने देखिएपछि सेयर प्रत्याभूतिकर्ता मुक्तिनाथ क्यापिटल र सीआईबीएल क्यापिटलले कम्पनीलाई पत्र लेखेर सूचना लुकाएकाले आफूहरूले सेयर किन्न नसक्ने बताए । यो विवाद धितोपत्र बोर्डसम्म पनि पुगेको छ ।
...





