सिरहाको लहानस्थित कृषि विकास बैंकको युजर र पासवर्ड ह्याक गरी लहान शाखाको चार करोड ८८ लाख रुपैयाँ रकमान्तर भएको अढाई महिना नबित्दै सिभिल बैंकको एटिएमको सटर काटेर रकम लुट्ने प्रयास भएको छ । लहान नगरपालिका-४ हुलाक नजिकै कृष्ण गुप्ताको घर भाडामा लिइ संचालित बैंकको भुइँतलामा रहेको एटिएमको सटरमा मान्छे पस्न सक्ने प्वाल बनाएर एटिएमबाट रकम लुट्ने प्रयास भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजयकुमार यादवले घटनास्थलको मुचुल्का उठाएर प्रहरीले थप अनुसन्धान गरिरहेको बताए । यद्यपी यो समाचार तयार पारुन्जेल प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन ।
बैंकका शाखा प्रबन्धक सरोज घिमिरेले सोमबार राती करिव १ बजेतिर एटिएम लुट्ने प्रयास भएपनि रकम सुरक्षित रहेको बताए । ‘हरेक राती करिब १० बजेतिर एटिएम लक गरेर सटर बन्द गर्छाैं’ प्रबन्धक घिमिरेले भने ‘ग्यास वेल्डिङ्ले मान्छे पस्न सक्ने गरी सटर काटेर भित्र रहेको एटिएमबाट रकम झिक्ने असफल प्रयास भएको छ ।'
उनका अनुसार एटिएममा राखिएको रुपैयाँ झिक्ने प्रयास भएपनि एटिएम लक भएकाले तोडफोड गरेको अवस्थामा भेटिएको छ । रकम सुरक्षित भएपनि करिब १५ लाख रुपैयाँ पर्ने एटिएम भने क्षतिग्रस्त भएको छ ।
...








