काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वाणिज्य बैंकलाई आगामी १ माघ गतेबाट अनिवार्य रूपमा ‘गो–एएमएल’ मा जान निर्देशन दिएका छन् । नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर नेपालले ’एन्टी मनि लाउन्ड्रिङ सिस्टम –एएमएल) लाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
बैंकले एएमएलमा कार्यान्वयन गर्न आलटाल गरेको भन्दै राष्ट्र बैंकले मिति नै तोकेर सम्पत्ति शुद्धीकरण निवारणमा जान निर्देशन दिएको हो । ’नो योर कस्टमर’ (केवाईसी) कार्यान्वयन गराउँदै आएको राष्ट्र बैंकले ’गो(एएमएल’ सफ्टवेयर जोड्न सबै बैंकलाई अनिवार्य गर्ने भएको छ । यो सफ्टवयर कार्यान्वयनमा आएपछि बैंकले चेक जम्मा गर्न जानेसँग पनि सबै विवरण माग गर्न सक्नेछ ।
गभर्नर नेपालले भने,‘ बैंकहरू अनिवार्य रूपमा डिजिटलाइजेसनमा जानुपर्छ । सूचना प्रविधिको क्षेत्रमा जानु भनेको लगानी गर्नु हो । यसले भविष्यमा लागत घटाउँछ ।’ १ माघबाट बैंकले चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने हुन्छ । बैंकलाई अघिल्लो वर्षको कात्तिक १ बाट प्रणालीमा आबद्ध भएर जान राष्ट्र बैंकले भनेको थियो ।
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले साइबर क्राइम बढ्दै गएकोले सूचना प्रविधिमा लगानी बढाउन बैकरहरूलाई सचेत गराएका छन् । उनले सूचना प्रविधिमा यति लागनी लाग्छ भन्ने जानकारी नभएकाले सुरक्षाको लागि निश्चित रकम छुट्याउन भने । जनशक्तिको क्षमता अभिवृद्धि गर्न छुट्याएको ३ प्रतिशत रकम उनीहरूकै क्षमता अभिवृद्धिमा खर्च गर्न समेत निर्देशन दिए ।
गभर्नर नेपालका अनुसार सम्पति शुद्धीकरणका लागि अन्तर्राष्ट्रियस्तरमा सूचना समाविस्ट गरेर त्यसका आधारमा बलियो नियमन तथा सुपरिवेक्षण गर्न गो–एएमएल नेपालमा पनि लागू गर्न लागिएको हो । अहिले राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण माग्नेगर्छ । गो एमएलमा गएपछि १० लाखभन्दा बढी रकम दिनभरिमा फरकफरक शाखा र समयबाट डिपोजिट भए पनि देखिने हुन्छ । यसअघि १०भन्दा बढी रकमको स्रोत नखुलाउनका लागि ग्राहकले फरकफरक समय र शाखाबाट डिपोजिट गर्थे । अब भने सबै कारोबारको विवरण बैंकको कोर बैंकिङ सिस्टम हुँदै गो–एएमएलमा ठोकिन्छ । गो–एएमएलमा जानका लागि चेक जम्मा गर्नेको नाम, ठेगाना, सम्पर्क नम्बरदेखि अन्य विवरण पनि भर्नु पर्ने हुन्छ ।








