काठमाडौं : निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) लगायत इन्टरनेट र सूचना प्रविधि क्षेत्रमा व्यवसाय विस्तार गर्ने भएको छ। यसका लागि सवारीसाधनलाई ‘ट्र्याकिङ’ गर्नेदेखि कार्यालयबाहिर काम गर्ने कर्मचारीको गतिविधिलाई नियाल्ने प्रणालीसम्म एनसेलले भित्र्याउने भएको छ। यसका लागि एनसेलले आफ्नो नारा नै परिवर्तन गरेको छ। ‘एनसेल एन आजिआटा कम्पनी’ नारालाई बदलेर हालैमात्रै ‘एनसेल फर बिजनेस’ अर्थात् व्यवसायका लागि एनसेल भन्ने नारा कार्यान्वयनमा ल्याइसकेको छ।
‘अहिले उद्योगी व्यापारीले सामान ढुवानीमा निकै ठूलो समस्या भोग्नुपरेको देखिएको छ’, एनसेलको ‘इन्टरप्राइज सेल्स’ शाखा प्रबन्धक सुशील विष्टले भने, ‘त्यसैकारण लागत र महँगीसमेत बढ्ने गरेको हाम्रो अध्ययनले देखाएको छ।’ उनले ट्रकको टायर खिइने समस्याले ढुवानी व्यवसायीलाई टाउको दुखाइ भएको बताए। चालकले जथाभावी ट्रक चलाइदिने र त्यसको जानकारी मालिकले नपाउने समस्या भएका बेला व्यवसायीको हितका लागि ‘भेइकल ट्र्याकिङ सिस्टम’ भित्र्याउन लागिएको उनले बताए। त्यस्तो प्रणालीले आफ्नो सवारीसाधन कहाँ छ, कुन गतिमा गुडिरहेको छ, घुम्तिमा कसरी गाडी घुमाइएको छ, आकस्मिक ब्रेक कहाँ लगाइएको छ भन्नेजस्ता मसिना सूचनासमेत पाउन सकिनेछ।
...








