अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा ब्राजिल र अर्जेन्टिनाका सामानमा शुल्क वृद्धि गर्ने घोषणासँगै मंगलबार विश्व शेयर बजारले ओरालो गति समाएको छ ।
मंगलबार एशियाली प्रशान्त शेयर ०.३७ प्रतिशतले घटेको छ भने अस्ट्रेलियाली शेयर २ प्रतिशतभन्दा बढीले घटेको छ । यो दुबैको शेयर बजार दुई महिनाकै सबैभन्दा खराब दिनका रुपमा रहेको छ ।
यसैगरी चीनको ब्लू–चिप सीएसटी३०० सूचक ०.६२ प्रतिशतभन्दा धेरैले घटेको छ भने जापानको निक्केई सूचकमा ०.६१ प्रतिशतको गिरावट देखिएको छ ।
यसैगरी सोमबार डोउ जोन्स इन्डेक्स ०.६८ प्रतिशतले घटेको थियो भने एस एण्ड पी ०.५९ प्रतिशत र नास्डाक ०.९४ प्रतिशतले घटेको थियो ।
सोमबार अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील र आल्मुनियममा कर वृद्धि गर्ने घोषणा गरेसँगै उक्त गिरावट देखिएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ट्वीट गर्दै ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील र आल्मुनियम लगायतका सामानमा कर वृद्धि गर्ने बताएका हुन् ।





