काठमाडौँ । बैङ्क तथा वित्तीय क्षेत्रमा यतिखेर आर्थिक तरलता (लगानीयोग्य रकम)को अभावको विषयले चर्चा पाइरहेको छ । केही वर्षदेखि मुलुकमा निरन्तर आइरहेको तरलताको समस्यालाई रोक्न नेपाल सरकार, राष्ट्र बैङ्कले विभिन्न दृष्टिकोणबाट गृहकार्य गरिरहेको छ । उक्त रोक्न राष्ट्र बैङ्कबाट विभिन्न नीति तथा कार्यक्रमहरू पनि सार्वजनिक भइरहेका छन् । बैङ्किङ क्षेत्रमा देखिएको तरलताको समस्याको दीर्घकालीन समाधानका लागि वाणिज्य बैङ्कहरूको बिग मर्जरको समेत चर्चा चलिरहेको छ । भलै मुलुकको अर्थतन्त्रमा समेत केही सुधारका पक्षहरू देखिन थालेका छन् । मुलुकको आयात कम र निर्यात वृद्धिका कारण देशको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । यसले गत वर्षहरूमा जस्तो आर्थिक तरलताको समस्या नआउने सङ्केत गरेको छ । तर यस्तो अवस्थामा बैङ्कहरूको भूमिका कस्तो रहेको छ त ? यसै विषय केन्द्रित हुँदै रातोपाटी सहकर्मी प्रयास श्रेष्ठले देशको अग्रणी बैङ्कमध्येको एक माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासँग गरेको सङ्क्षिप्त संवाद ।लामो समयको बैङ्किङ अनुभव र कार्यलगनशीलताका बीच करिब १५ महिनाको माछापुच्छ्रे बैङ्कको नेतृत्व गरिसक्नुभएको छ । कस्तो अनुभव भइरहेको छ र बैङ्कको कारोबारको अवस्था के छ ?
गत वर्षको जेठदेखि बैङ्कको कार्यकारी भूमिकामा छु । बैङ्कको नेतृत्व सम्हालेदेखि नै बैङ्कको कारोबारमा क्रमिक सुधार आइरहेको छ । असहज परिस्थितिमा पनि हामीले बैङ्कको सफलतालाई निरन्तर माथि उठाइरहेका छौँ । वित्तीय तरलताको असहज परिस्थितिमा पनि हामीले बैङ्कको व्यवसाय र नाफा दुवैलाई बढायौँ । जस्तो बैङ्कको नाफा १२४ बाट १७० पु-याउन सफल भयौँ । यही समयमा समग्र बैङ्किङ कारोबारमा झण्डै ६ प्रतिशतको वृद्धि भएको छ ।
बैङ्कको निक्षेपको अवस्था पनि सकारात्मक नै छ । गत वर्ष व्यापार बढाउँदा पनि व्यक्तिगत निक्षेप ६७ प्रतिशत रहेको र ३३ प्रतिशत मात्र संस्थागत निक्षेप रहेको थियो । कारोबार, नीति तथा कार्यक्रमका हिसाबले हाम्रो गत वर्ष राम्रो रह्यो ।
बैङ्कको शाखा विस्तारमा पनि सफलता मिलेको छ । करिब तीन महिनाको अन्तरालमा ५५ भन्दा बढी स्थानमा नयाँ शाखाहरू विस्तार भएका छन् । देशभर रहेका ७७ जिल्लामध्ये ५४ जिल्लाहरूमा कुल १४४ शाखामार्फत माछापुच्छ्रे बैङ्कको उपस्थिति रहेको छ ।
२८ वाणिज्य बैङ्कलाई कम्तीमा १९ विकट स्थानीय तहमा अनिवार्य शाखा खोल्न राष्ट्र बैङ्कको निर्देशन दिएसँगै सोही अनुरूप स्थानीय तहमा जानुभएको हो ?
केन्द्रीय सरकार र केन्द्रीय बैङ्क (राष्ट्र बैङ्क) को नीति कार्यक्रममा माछापुच्छ्रे बैङ्क कटिबद्ध छ । हामीले बैङ्कले निर्देशन गरेको समयसीमाभित्रै त्यस्ता विकटभन्दा विकट क्षेत्रमा उपस्थिति जनाइसकेका थियौँ । सुनकोसी गाउँपालिका, अपी हिमाल र व्यास क्षेत्र जस्ता अति विकट क्षेत्रमा समेत बैङ्कले आफ्नो शाखा पुर्याएको छ । जहाँ केन्द्र र शाखाबीच सूचना प्रवाह हुन निकै कठिन छ । त्यस्तो ठाउँमा समेत हाम्रो बैङ्क पुगेको छ । यस्ता धेरै स्थानहरू छन्, जहाँ हामी पुगिसेका छौँ । अरू बैङ्कले के गरेका छन् तर माच्छापुच्छ्रे बैङ्कले राष्ट्र बैङ्कको निर्देशन परिपालन गरेको छ ।








