विश्वका नाम कहलिएका शेयर बजारका सफल पण्डितहरु सबैले शेयरबजार तल आएको बेलामा ठूलो संख्यामा शेयर उठाउँछन् र जब बजार उल्लेख्य रुपमा माथि जान्छ अनि बिक्री गरि पुनः बजार तल झर्ने समय कुरेर बस्छन् र बजार तल आउँदा पुनः खरीद गर्छन्।
यो क्रममा उनीहरुले खरीद गरिसकेपछि बिक्रीको लागि २/३/४ वर्ष सम्म पनि कुर्छन र उल्लेख्य नाफा हुने अवस्थामा मात्र खरिद बिक्री गर्छन्।
तर यहाँ मूल प्रश्न भनेको कुन मूल्यमा खरीद गर्ने भन्ने हो। शेयर बजार एउटा निश्चित दायरामा पेण्डुलम जस्तो दायाँ-बायाँ गरिरहेको हुन्छ। जसरी घडीको पेण्डुलम पनि दायाँ तिर एउटा निश्चित बिन्दु भन्दा पर जाँदैन त्यसै गरि शेयर बजार पनि तल आउने एउटा निश्चित बिन्दु हुन्छ। त्यो भनेको स्टक एक्सचेञ्जको औसत मूल्य आम्दानी अनुपात हो। अर्थात कुनै पनि स्टक एक्सचेञ्जमा सूचीकृत सबै कम्पनीको औसत मूल्य आम्दानी अनुपात।
हाम्रो देशमा नेपाल स्टक एक्सचेञ्जले यस्तो विवरण निकाल्ने गरेको छैन। तर भारतको इतिहास हेर्ने हो भने औसत मूल्यआम्दानी अनुपात १०.२८ भन्दा तल आएको र २८.५ भन्दा माथि गएको छैन। त्यसैले सफल भ्यालु इन्भेष्टरले १०.२८ लाई कुर्दैन किनकी त्यो अवस्थामा शेयरको सप्लाई एकदमै कम भई आफूले खोजेको संख्यामा पाउन गार्हो हुने भएकोले तिनले औसत मूल्य आम्दानी/अनुपात १२/१३ मा आए पछि क्रमशः शेयर उठाउँदै जान्छन्।
अब नेपालको अवस्थालाई हेरौं। नेप्से सन् २०११ जुन १५ मा २९२.३१ मा हुँदा बैंकिङ्ग सेक्टरको औसत मूल्य आम्दानी अनुपात १०.०४ (तत्कालीन समयको उपलब्ध भएसम्मको डाटाको आधारमा यो लेखकले आफैँ गणना गरि निकालेको। यसमा CBL, CCBL, JBNL, MEGA, NBL PRAVU तथा SANIMA बैङ्क समावेश छैन) थियो भने मूल्य/नेटवर्थ अनुपात १.८४ थियो। जबकी २०७५/०५/१७ गते मूल्य आम्दानी अनुपात १५.३४ थियो। त्यति बेला जुन लगानीकर्ताले कम्पनीको आधारभूत सूचकलाई ध्यानमा राखेर कम मूल्य आम्दानी अनुपात र मूल्यनेटवर्थ अनुपात भएका शेयरमा लगानी गरे तिनले अहिले बजार पुनः तल्लो बिन्दुमा आउँदा समेत गुमाउनु नपरेको प्रमाण माथिको तालिकाबाट प्रष्ट हुन्छ।
त्यसैले लगानीकर्ताहरुले खेलाडीबाट फिजाईएको अर्थमन्त्रीको भूतको त्रासमा आफ्नो लगानी सस्तो मूल्यमा बिक्री गरि फाल्दै जाने हो की प्रमाणित तथ्याङ्कको आधारमा शेयर मूल्यको विश्लेषण गरि लगानी गर्ने हो त्यसको निर्णय आफैँले गर्नुपर्छ।
- बजारले लगानीकर्ताबाट के अपेक्षा गरेको छ ?
बजारमा लगानीकर्ताको मनोभावनाले ठूलो भूमिका खेलेको हुन्छ। त्यसैले बजारले आफू उकालो लाग्नको लागि लगानीकर्ताको सकारात्मक मनोभावनाको अपेक्षा गरेको हुन्छ।
नेप्सेमा सूचीकृत प्रायः सबै कम्पनीका आर्थिक सूचकहरु सकारात्मक रहेको तथा मुलुकको आर्थिक अवस्थाको चित्रण गर्ने मानकहरु पनि सकारात्मक नै रहेको अवस्थामा पनि केही ठूला तथा खेलाडी लगानीकर्ताहरुबाट आम लगानीकर्ताको दिमागमा अर्थमन्त्रीको भूतलाई दरो किसिमले प्रत्यारोपण गर्न सफल भएका थिए ।
सोही कारणले आम लगानीकर्ताको मनोभावना सरकार, अर्थमन्त्री तथा बजार प्रति नकारात्मक हुन गई बजारले गति लिन नसकेको हो भन्ने आम बूझाई छ। त्यसैले बजारले लगानीकर्ताको सकारात्मक मनोभावनाको अपेक्षा गरेको छ र यस्तो हुने बितिकै बजारलाई माथि जानबाट कसैले रोक्न सक्दैन। त्यसैले लगानीकर्तालेः
- सर्वप्रथम त आफ्नो दिमागबाट अर्थमन्त्रीको भूतलाई टपक्क टिपेर फाल्नुपर्छ।
- हल्लाको पछि लागेर खरीद बिक्री गर्ने बानी त्यागी कम्पनीको आधारभूत सूचकहरुको विश्लेषण गरि लगानी निर्णय लिनुपर्छ।
- के अहिले शेयर बजार यो बिन्दुमा आउने गरि मुलुकको अवस्था डामाडोल भएको छ त ? त्यसको विश्लेषण गर्नुपर्छ।





