काठमाडौं : पुँजी बजारमा सक्रिय १८ वटा म्युचुअल फन्डले कात्तिक मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस महिना केही फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मिश्रित देखिएको छ । कतिपयको न्याभ घट्ने क्रम अझै जारी छ । सेयर बजार निरन्तर ओरालो लागेकाले त्यसको प्रत्यक्ष असर म्युचुअल फन्डको न्याभमा देखिएको हो । म्युचुअल फन्डले संकलन गरेको अधिकांश रकम सेयर बजारमा लगानी गरेका हुन्छन् ।
लगानी गरेका कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएकाले फन्डहरुको खुद सम्पति मूल्य पनि ह्रासोन्मुख देखिएको हो । सेयर बजारमा गिरावट आएपछि कपितयले बैंकमा निक्षेप जम्मा गर्ने क्रम पनि बढाएका छन् । म्युचुअल फन्डले सेयर बजारमा सकारात्मक भूमिका खेल्ने विश्वास गरिन्छ । बजार घटेका बेला किन्ने र निकै बढ्दा बेचेर बजारको गतिलाई सन्तुलित पार्ने यिनीहरुको प्रमुख काम हो ।
यससँगै आम लगानीकर्ताको लगानी सुरक्षित गरी आकर्षक मुनाफा दिन सक्नुलाई म्युचुअल फन्डहरुको सफलताका रुपमा हेर्ने गरिन्छ । यद्दपि, व्यवहारमा भने अहिलेसम्म यस अपेक्षा अनुसार काम हुन सकेको देखिंदैन । सेयर बजार घटेका बेला म्युचुअल फन्डहरुले पनि लगानी घटाएका देखिन्छन् । सेयर बजार लगातार घटिरहँदा म्युचुलअ फन्डहरुले पनि बैंक निक्षेपतर्फ लगानी बढाउने र त्यसबाट प्राप्त हुने ब्याज लगानीकर्तालाई लाभांशका रुपमा बाँड्ने धेरैको रणनीति रहेको देखिन्छ ।




