वाणिज्य बैंकहरुको लाभांश दर बढ्यो, तीन बैंकको घोषणा हुन बाँकी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
वाणिज्य बैंकहरुको लाभांश दर बढ्यो, तीन बैंकको घोषणा हुन बाँकी

वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न घोषित लाभांश अघिल्लो आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको लाभांशको तुलनामा ३.७१ प्रतिशतले धेरै प्रस्ताव गरेको देखिएको छ।

गत आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट हालसम्म २३ वाणिज्य बैंकले आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेका छन्। यस आधारमा हेदा बैंकहरुले औसतमा आफ्ना शेयरधनीलाई १९.०१ प्रतिशत लाभांश वितरण गरेका छन्। जसमध्ये बोनसको औसत प्रतिशत ८.७२ छ भने नगद लाभांश १०.२९ प्रतिशत रहेको छ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट बैंकहरुले औसतमा १५.३० प्रतिशत लाभांश वितरण गरेका थिए। जसमा बोनसको औसत प्रतिशत ६.२१ र नगद लाभांशको ९.०९ प्रतिशत रहेको थियो।

यस आधारमा हेर्दा समग्र वाणिज्य बैंकहरुको औसत लाभांश २४.२५ प्रतिशतले बढेकोमा बोनस लाभांश ४०.४२ प्रतिशत र औसत नगद लाभांश १३.२० प्रतिशतले बढेको हो।

अघिल्लो आर्थिक वर्षमा बैंकहरुले चुक्ता पूँजी बढाएपछि बोनस भन्दा नगद लाभांशलाई प्राथमिकता दिएकोमा गत आर्थिक वर्षमा पनि नगद लाभांश नै धेरै छ। यद्यपी बोनस शेयरको वृद्धि प्रतिशत ज्यादा छ ।

ग्लोबल आईएमई र जनता बैंकको मर्जरले अन्य वाणिज्य बैंकहरुलाई पनि चुक्ता पूँजी वृद्धि गर्न दबाब पुगेपछि अहिले बैंकहरुले बोनस बढाउन थालेका हुन्। साथै बैंकहरु आन्तरिक रुपमा बिग मर्जरको तयारी समेत जुटेको बुझिन्छ।

  • एनएमबिले धेरै लाभांश बाँड्दा सिभिल पुछारमा, तीन बैंकको बाँकी

मंसिर १० गते आइपुग्दा गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश घोषणा गरेको बैंकमध्ये एनएमबि बैंकले सबैभन्दा धेरै २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद सहित ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सिभिल बैंक सबैभन्दा कम ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

यस्तै नबिल बैंकले १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । ग्लोवल आईएमई, सिद्धार्थ, एभरेष्ट र नेपाल बैंकले २५ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये कृषि विकास बैंक सहित सेञ्चुरी कर्मसियल बैंक र एनसीसी बैंकले लाभांश प्रस्ताव गर्न बाँकी छ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट भने नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो भने सिभिल बैंकले ४.०५ प्रतिशत नगद लाभांश मात्र बाँडेको थियो।

Read More