हाल नेपालमा २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्। जसमध्ये नेप्सेमा सूचीकृत १५ निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ७१ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
सूचीकृत निर्जीवन बीमा कम्पनीमध्ये खुद बीमा शुल्क र खुद नाफा आर्जनको आधारमा शिखर इन्स्योरेन्स निरन्तर आफुलाई अब्बल साबित गर्दै लगिरहेको छ भने युनाईटेड इन्स्योरेन्स तुलनात्मक रुपमा सबैभन्दा कमजोर देखिएको छ।
यस अवधिमा बीमा समितिको निर्देशन अनुसार १० कम्पनीले न्यूनतम चुक्ता पूँजी कायम गरेको वित्तीय विवरण प्रकाशित गरेका छन्। समितिले तोकेको न्यूनतम एक अर्ब चुक्ता पूँजी पुर्याउने कम्पनीरुमा दश कम्पनीहरु रहेका छन्। पाँचको अझै पूँजी कायम गर्न बाँकी छ।
एक अर्ब चुक्ता पूँजी पुर्याउने कम्पनीरुमा नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हिमालयन जनरल, नेपाल इन्स्योरेन्स, आईएमई जनरल, एभरेष्ट र प्रभु इन्स्योरेन्सले पुर्याएका हुन् ।
लुम्बिनी जनरल, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजि इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बाँकी छ।
नेको इन्स्योरेन्सको चुक्त पूँजी सबैभन्दा धेरै १ अर्ब ३१ करोड रुपैयाँ छ भने सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीको २६ करोड रुपैयाँ मात्रै छ।
- खुद बीमा शुल्क र खुद नाफामा शिखर इन्स्योरेन्स अगाडि
१५ निर्जीवन बीमा कम्पनीहरु मध्ये खुद बीमा शुल्क र खुद नाफा आर्जनको आधारमा शिखर इन्स्योरेन्स अब्बल देखिएको छ। बीमा कम्पनीहरुको आम्दानीको मुख्य स्रोत बीमा शुल्क आर्जन गरी धेरै नाफा कमाउन शिखर इन्स्योरेन्स सफल भएको हो।
यस अवधिमा इन्स्योरेन्सले ४५ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।





