काठमाडौं । झण्डै अढाई दशकपछि नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने घोषणा गरेपछि शेयर बजारमा एउटा तरंग नै आएको छ । यस वर्ष नेपाल बैंकले राम्रो लाभांश दिँदै छ भन्ने सन्देश पहिलेदेखि नै बजारमा फैलिएको थियो ।
लगानीकर्ताले सोचेअनुसार नै नेपाल बैंकले लाभांश दिने निर्णय गरेको छ । त्यस्तै लगानीकर्ताले सोच्दै नसोचेको ३५ प्रतिशत लाभांश एनएमबि बैैंकले दियो । यसले त बजारमा तहल्का नै मच्चाउने काम गर्यो ।
एनएमबि बैंकले अहिले जति लाभांश घोषणा गरेको छ । त्यति लाभांश अन्य कुनै वाणिज्य बैंकले घोषणा गर्न सकेका छैनन् । बजारमा एकछत्र कायम गरेको हल्ला फैलाएका नबिल, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट बैंकलाई पछि पार्दै एनएमबि बैंकले उच्च लाभांश वितरण गर्ने प्रस्ताव गर्यो । नयाँ बैंकले पुराना बैंकलाई उछिनेर लाभांश घोषणा गरेको यो पहिलोपटक हो । यसले के देखाउँछ भने नयाँ बैंक एग्रेसिभ रुपमा अगाडि बढेका छन र पुराना बैंक सुस्ताउन थालेका छन् ।
२८ वाणिज्य बैंकमध्ये हालसम्म २३ वटाले लाभांश घोषणा गरेका छन् । तीमध्ये केहीले वार्षिक साधारणसभा गरेर धमाधम शेयरधनीको खातामा रकम पठाइरहेका छन् । केही बैंकले भने वार्षिक साधारणसभा गर्दै छन् ।
...





