निष्काशन गरिएको भन्दा कम आईपिओ सुचिकृत गराउने प्रयास असफल भएको छ। कम आईपिओ सुचिकृत गराएर पुँजीबजारमा नयाँ अभ्यासको थालनी गर्ने ३ क्यापिटलको प्रयास असफल भएको हो । हिमाल दोलखा हाइड्रोपावरका शेयर प्रत्याभुतकर्ताहरुले आफुले दिनु पर्ने भन्दा कम रकम दिएर कम शेयर सुचिकृत गराउने प्रयास गरेका थिए । तर नेपाल धितोपत्र बोर्डले त्यसो गर्न कानुनत नमिल्ने बताएपछि उनीहरुको प्रयास असफल भएको हो ।
भएको के थियो ?
हिमाल दोलखाले निष्काशन गरेको ७८ लाख कित्ता मध्ये ४१.६१ प्रतिशत अर्थात् ३० लाख ९३ हजार २ सय ५० कित्ता आईपिओ मात्र बिक्रि भएको थियो । बाँकि रहेको शेयर सम्झौता अनुसार प्रत्याभूतिकर्ताहरुले सकार्नु पर्ने थियो । आईपिओ पुरै बिक्रि नभएको खण्डमा बिक्रि नभएको शेयर खरिद गर्ने गरि कम्पनीसंग सम्झौता गरेका कम्पनी नै प्रत्याभूतिकर्ताहरु हुन् ।
हिमाल दोलखाको हकमा लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिंङ, बिओके क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले प्रत्याभूत गरेका थिए । जसअनुसार यी कम्पनीले आफुले प्रत्याभूत गरेको शेयरको अनुपातमा बाँकि शेयर खरिद गर्नु पर्ने थियो। तर लक्ष्मी बाहेकका कम्पनीले आफुले लिनु पर्ने शेयर बराबरको पैसा दिन आनाकानी गरे ।
कम्पनीको शेयरको ३३.७० प्रतिशत नबिलले, ३२.८६ प्रतिशतले बैंक अफ काठमांडूले, २५ प्रतिशत लक्ष्मीले र ८.४२ प्रतिशत नेपाल बंगलादेश क्यापिटलले गरेका थिए । यहि प्रतिशतको आधारमा यी ४ क्यापिटलले बिक्रि नभएको शेयर किन्नु पर्ने थियो। जस अनुसार नबिल इन्भेस्टमेन्टले सबै भन्दा धेरै १५ लाख ३५ हजार ४४ कित्ता, बिओकेले १४ लाख ९६ हजार ६ सय ६५ कित्ता, लक्ष्मीले ११ लाख ३८ हजार ४ सय ९० कित्ता र नेपाल बंगलादेशले ३ लाख ८३ हजार ७ सय ६२ कित्ता शेयर खरिद गर्नु पर्ने थियो ।




