एनआईसी एशिया बैंकको प्रतिस्प्रर्धा अब निजी क्षेत्रको अब्बल नबिल बैंक र पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसँग हुने देखिएको छ। चालु आवको प्रथम त्रैमासमा एनआईसी एशियाले आफ्नो खुद मुनाफा एक अर्ब माथि पुर्याएर दाबेदारी प्रस्तुत गरेको हो।
अन्य वाणिज्य बैंकहरु भन्दा फरक शैली र आक्रामक बैंकिङ सेवा विस्तारमा अगाडि बढेको यस बैंकले धेरै (३०० बढी) शाखा विस्तारका कारण बढ्दो सञ्चालन र कर्मचारी खर्चलाई नियन्त्रण गर्दै सरकारी र निजी क्षेत्रको अब्बल मानिएका बैंकसँग प्रतिस्प्रर्धामा उत्रिने क्षमता बनाएको हो।
एनआईसी एशियाले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा एक अर्ब ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत आवको तुलनामा ३४.१३ प्रतिशत अर्थात २५ करोड ६९ लाख रुपैयाँले बढी हो भने बैंकहरुमध्ये तेस्रो ठूलो नाफा हो। यो बैंकभन्दा नबिल र राष्ट्रिय वाणिज्य बैंकले (एक अर्ब १२ करोड) मुनाफा आर्जन गरेका छन्।
यस अवधिमा बैंकको वितारणयोग्य नाफा ४४ करोड ८४ लाख रहेको छ। राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल ५६ करोड ११ लाख ५३ हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफामा भने कमी आएको हो।
असोजसम्ममा बैंकमा १ खर्ब ७८ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ५८ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको निक्षेप संकलन राष्ट्रिय वाणिज्य बैंकको भन्दा ९ अर्बले कम रहेपनि कर्जा परिचालनमा भने नबिल र वाणिज्य बैंकभन्दा अगाडि रहेको छ। राष्ट्रिय वाणिज्य बैंकले यस अवधिमा १ खर्ब ८७ अर्ब निक्षेप संकलन गरि वाणिज्य १ खर्ब ४३ अर्बको कर्जा लगान गरेको छ भने नबिल बैंकले १ खर्ब ७२ अर्ब निक्षेप संकलन गरि १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
निक्षेपको प्रतिस्पर्धाले बैंकको खुद ब्याज आम्दानी करिब २ करोड २७ लाखले घटेपनि शुल्क तथा कमीसन आय दोब्बर बन्दा मुनाफा उच्च बढेको हो।
चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ रहेको एनआर्ईसीको जगेडा कोष ३ अर्ब ९८ करोडबाट ४ अर्ब ५० करोडमा बढेका छ भने रिटेन्ड अर्निङ्ग मुनाफा वितरण पश्चात २ अर्ब ११ करोडबाट ७० करोड १३ लाखमा झरेको छ।








