नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा विद्युत बिक्रीबाट ६ करोड ६४ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० लाख ६८ हजार बढी हो।
कम्पनीले विद्युत उत्पादन वृद्धि गर्न नयाँ टरबाइन रनर, जेनेरेटर ओभरहल, बालुवा फ्लसिङ्ग गर्ने समयन्त्रहरु जडान र सिभिल मर्मतका कार्यहरु सम्पन्न गरेका कारण विद्युत उत्पादन वृद्धि भई आम्दानी बढेको बताएको छ।
विद्युत बिक्रीबाट आम्दानी बढेपनि कम्पनीको नाफा भने गत आवको असोज मसान्तको तुलनामा २१ लाख १७ हजार घटेको छ। कम्पनीले चालु आवको असोज मसान्तसम्ममा २ करोड ३७ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
विद्युत बिक्रीबाट हुने आम्दानीमा सुधार भएपनि कम्पनीको प्रत्यक्ष खर्च र प्रशासनिक खर्चमा भएको वृद्धिले खुद नाफा घट्न पुगेको हो। गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको प्रत्यक्ष खर्च ५१ लाख १५ हजार बढेको छ भने सञ्चालन खर्च ५ लाख ६८ हजार बढेको छ।
१ अर्ब ३८ करोड ५९ लाख चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष चालु आवको असोज मसान्तसम्ममा ३८ करोड १० लाख ऋणात्मक रहेको छ।





